गेजिङ, ०७ अक्टोबर। लोकसभा सांसद इन्द्रहाङ सुब्बाले बुधवार रिम्बीस्थित पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरी त्यहाँको वस्तुस्थिति बुझ्नुका साथै जारी राहत तथा पुनर्स्थापना कार्यहरूको समीक्षा गरे।
यसअवधि सांसदसँगै भूमि राजस्व तथा आपदा व्यवस्थापन विभागका आयुक्त तथा सचिव एमटी शेर्पा, खन्न तथा भूगर्भ विभागका प्रमुख निर्देशक फिगु छिरिङ भोटिया, एसएसडीएमएका निर्देशक प्रभाकर राई, गेजिङका जिल्लापाल तेञ्जिङ डी डेञ्जोङपासहित अन्यको उपस्थिति रहेको थियो।
टोलीले रिम्बीस्थित पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी अवस्थाको जानकारी लियो। यस क्रममा क्षति, प्रभावित भूमि र पुनर्स्थापनाका लागि आवश्यक उपायहरूबारे छलफल गरियो।
जिल्लापाल डेञ्जोङ्पाले राहत शिविर स्थापना र पुनर्स्थापना केन्द्र निर्माणलगायत जिल्ला प्रशासनद्वारा भइरहेका प्रयासहरूबारे टोलीलाई जानकारी गराए।
राहत शिविरमा टोलीले त्यहाँको व्यवस्थापनको समीक्षा गर्नुका साथै आवश्यकताबारे छलफल गर्यो। भूमि राजस्व तथा आपदा व्यवस्थापन विभागका अधिकारीहरूद्वारा राहत शिविरमा राहत सामग्रीहरू पनि हस्तान्तरण गरियो। त्यसपछि टोलीले निर्माणाधीन पुनर्स्थापना केन्द्रको निरीक्षण गर्यो, जहाँ जिल्ला प्रमुखले अधिकारीहरूलाई उक्त केन्द्रको निर्माण कार्य र त्यहाँ प्रस्तावित सुविधाबारेमा जानकारी गराए।
टोलीले प्रभावित आबादीको स्थायी बसोबासको विषयमा विशेष ध्यानकेन्द्रित गर्यो। यस क्रममा प्रभावित जमिनको क्षेत्रफल, पुनर्स्थापना आवश्यक पर्ने परिवारको सङ्ख्या र उपयुक्त जग्गाको पहिचानलगायतका विषयमा छलफल भयो साथै प्रस्तावित क्षेत्रहरूको सुरक्षा र उपयुक्तताको सावधानीपूर्वक मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामाथि पनि विस्तृत रूपमा छलफल गरियो।
पुनर्स्थापनासम्बन्धी प्रयासहरूलाई अघि बढ़ाउन सम्बन्धित निकायहरूबीच निरन्तर समन्वय र स्थानीय समुदायको सहयोग हुनुपर्ने विषयमा जोड़ दिँदै उक्त भ्रमण सम्पन्न भएको बताइएको छ।
Leave a comment


