गान्तोक, 05 मार्च। सिक्किमका एक धावक शान्तिराम नेपाल देशका 29 राज्यहरूको म्याराथन यात्रामा निक्लिएका छन्। उनको यस असाधारण यात्रालाई मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान राजधानीको मिन्तोकगाङबाट झण्डा फहराएर शुभारम्भ गरेका छन्।
धावक नेपालको यस म्याराथान यात्राको लक्ष्य ‘सुनौलो, समृद्ध र समर्थ सिक्किम’ को दृष्टिकोणलाई प्रवर्द्धन गर्दै सिक्किमको 50औं राज्य स्थापना वर्षको बारेमा जागरूकता फैलाउनु रहेको बताइएको छ।
मुख्यमन्त्री तामाङ धावक नेपाललाई यात्राको निम्ति शुभकामना दिॅंदै उनको यो महत्वाकांक्षी प्रयास उनको व्यक्तिगत समर्पण मात्र होइन, तर प्रगति र एकताप्रति सिक्किमको प्रतिबद्धताको पनि प्रतीक पनि रहेको बताएका छन्। उनले भने, ‘यस उल्लेखनीय चुनौतीलाई स्वीकार गर्दै उनले राज्यको भावना देशभरि लिएर जानेछन् तथा लचिलोपन, दृढ संकल्प र सिक्किमको स्वर्ण जयन्ती समारोहको सार प्रदर्शन गर्नेछन्।’
धावक नेपालले यस दौडको लागि मुख्यमन्त्रीले दिएको समर्थन र आशीर्वादको लागि कृतज्ञता व्यक्त गरे। उनले आफ्नो यस दौडको माध्यमद्वारा धेरैलाई प्रेरित गर्ने र सिक्किमको समृद्ध सम्पदा र आकांक्षाहरूप्रति राष्ट्रको ध्यान आकर्षित गर्ने अपेक्षा राखेका छन्।

Leave a comment