गान्तोक, 12 मार्च। नामथाङ रातेपानी निर्वाचन क्षेत्रको अप्पर पर्बिङस्थित वाङमासुखे मैदानमा शेर्पा जातिको महान पर्व ग्याल्पो ल्होसार राज्य स्तरीय रूपमा पालन गरियो। डेन्जोङ शेर्पा संघको तत्वावधानमा आयोजित यस कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नि कृष्ण कुमारी राई, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, उपाध्याक्ष राजकुमारी थापा, राज्य मन्त्रीमण्डलका सदस्यहरू, विधायकहरू, मुख्यमन्त्रीका राजनीतिक सचिवद्वय जेकब खालिङ र विकास बस्नेत, प्रेस सचिव युगेन तामाङ आदि उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले ग्याल्पो ल्होसारको सबैमा हार्दिक शुभकामना व्यक्त गरे। उनले यो पर्व केवल शेर्पा समुदायको मात्र नभई सम्पूर्ण सिक्किमेहरूको पर्व रहेको मनतव्य व्यक्त गर्दै एसकेएम सरकारमा सबै जातीय पर्वहरूको संरक्षण र संवर्धन भएको बताए। उनले आफ्नो भाषा र संस्कृतिको संरक्षण र संवर्धनमा लागि पर्न आह्वन गर्दै प्रत्येक भाषाका शिक्षकहरूलाई महत्व दिएर सरकारले नियुक्ति दिइरहेको जानकारी गराए।
मुख्यमन्त्रीले आफ्नो मातृ भाषालाई महत्व दिनु पर्ने कुरामा बल दिॅंदै शेर्पा भाषाका शिक्षकहरूलाई पनि आफ्नो भाषालाई प्रोत्साहित गर्न आग्रह गरे। उनले एसकेएम सरकारले शेर्पा जातिलाई न्याय दिॅंदै एमएन शेर्पालाई मन्त्री बनाएको र वर्तमानमा सिक्किम विधानसभाको अध्यक्ष जस्तो गरिमामयी पदमा नियुक्त गरेको बताए। उनले शेर्पा समुदायको निम्ति एसकेएम सरकारले गरेका विविध कल्याणकारी र विकासीय कार्यहरूको पनि उनले जानकारी गराए।
उनले राजधानीको लुम्सेमा शेर्पा भवनको निर्माण कार्य भइरहेको छ भन्दै सबै समुदायको सामुदायिक भवन गान्तोकमा निर्माण गर्ने कार्य भएको बताए। क्षेत्र विधायक सञ्जित खरेलको पहलमा समष्टिका सडक मार्गहरूमा विभिन्न देवी देवताहरूको मुर्ति स्थापना गरेर ती स्थानहरूलाई सुन्दरीकरण गर्ने कार्य गरिएकोमा सराहना गरे। उनले नामथाङमा महकुमा कार्यालय स्थापना गरिने घोषणा गर्दै यहाँको सामतेलिङ गुम्पा बढोत्तरीको निम्ति सहयोग गर्ने बताए।
आफ्नो सम्बोधनमा क्षेत्र विधायक सञ्जित खरेलले ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल मार्ग निर्देशनमा नामथाङ रातेपानी समष्टिमा भएका विकासीय कार्यहरूको जानकारी गराए। उनले क्षेत्रका जनताको तर्फबाट मुख्यमन्त्रीप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले नामथाङमा पिउने पानीको समस्या लगायत अन्य मागहरू पनि मुख्यमन्त्री समक्ष राखेका थिए।
यसैगरी, विधानसभा अध्यक्ष एमएन शेर्पाले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा शेर्पा समुदायले न्याय पाएको बताए। एमबीबीएस लगायतका विभिन्न उच्च शिक्षा अध्ययनमा शेर्पा समुदायका विद्यार्थीहरूले अवसर पाएको बताउँदै उच्च सरकारी पदहरूमा पनि शेर्पा समुदायका प्रतिनिधिहरूले मौका पाएको उनले बताए।