गान्तोक, 16 मार्च। ‘सिक्किम आइडल सिजन 1’ को सफल आयोजनपछि हाम्रो वार्ता टेलिभिजनले अब ‘सिक्किम आइडल सिजन 2’ आयोजना गर्ने भएको छ। जेट्सन डोना लामा, मोनिका राई र रिवास गुरुङ जस्ता उत्कृष्ट गायकहरूलाई जन्म दिने सिक्किम आइडलले अब राज्यका आकांक्षी गायक र गायिकाहरूलाई मञ्च दिन आफ्नो तयारी शुरू गरेको छ।
राजधानीमा आज एक पत्रकार सम्मेलन आयोजना गरेर हाम्रो वार्ता टेलिभिजनले चॉंडै सिक्किम आइडल सिजन 2 शुरू गर्ने घोषणा गरेको छ। यस गायन प्रतियोगिताका एक निर्णायक डा. मनोज राईले पत्रकार सम्मेलनमा जानकारी गराए अनुसार, यसपाली प्रारम्भिक अडिशन अनलाइन स्क्रीनिङको माध्यमद्वारा गरिने छ। इच्छुक व्यक्तिहरूले आगामी 2 देखि 16 अप्रेलसम्ममा आफूले गीत गाएको एउटा भिडियो पठाउनु पर्नेछ, जुन एकदेखि दुई मिनटको हुनुपर्नेछ। उनीहरूले नेपाली अथवा हिन्दी गीत गाउन सक्नेछन्।
ट्र्याक अथवा केरिओकेमा गीत रेकर्ड गर्न पाइने छैन। यसको सट्टामा कुनै एउटा वाद्ययन्त्र हारमोनियम, पियानो, तानुपरा अथवा गिटार प्रयोग गर्न सक्नेछन्। भिडियो ल्याण्डस्केप मोडमा खिच्नु पर्नेछ भने आफ्नो स्वरमा फिल्टर प्रयोग गर्नु पाइने छैन। रेकर्ड गरिएको भिडियोमा नै कलाकारहरूले आफ्नो नामलगायत सम्पूर्ण जानकारी पनि रेकर्ड गर्नु पर्नेछ।
यो प्रतियोगिता दुई वर्ग जुनियर र सिनियर वर्गमा सम्पन्न गरिने छ। जुनियर वर्गमा 14 वर्षसम्मका नानीहरूले भाग लिन सक्नेछन् भने सिनियर वर्गमा 15 वर्षदेखि माथि उमेर पुगेका कसैले पनि भाग लिन सक्नेछन्। आगामी केही दिनमा वेबसाइटको माध्यमद्वारा पञ्जीकरणको निम्ति अनलाइन फारम वितरण शुरू गरिने डा. राईले जानकारी गराएका छन्।
पत्रकार सम्मेलनमा सिक्किम आइडलकी निर्णायक रेमन्ती राई, प्रेस क्लब अफ् सिक्किमका महासचिव डीआर दुलाल र हाम्रो वार्ता टेलिभिजनका प्रतिनिधिद्वय प्रणेश पाख्रीन र स्टेला राई पनि उपस्थित थिए।

Leave a comment