बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री
गान्तोक, 06 अप्रेल। मुख्यमन्त्री प्रेमसिंह तामाङ उत्तर पूर्वी क्षेत्रमा क्रिकेटमा उत्कृष्टतालाई मान्यता दिने एक भव्य समारोह ‘चौथो उत्तर पूर्व क्रिकेट विकास परिषद् (एनईसीडीसी) एचिभर्स नाइट’ मा सहभागी बने। उक्त कार्यक्रम आज राजधानीको चिन्तन भवनमा आयोजना गरिएको थियो।
मुख्यमन्त्री तामाङले आफ्नो सम्बोधनमा यो कार्यक्रम सांस्कृतिक रूपमा समृद्ध र विविध पूर्वोत्तरमा प्रतिभा, समर्पण र खेलकुदको एकीकृत शक्तिको उत्सव रहेको बताए। उनले सम्मानित हुने खेलाडीहरूलाई हार्दिक बधाई दिँदै आ-आफ्नो राज्यको गौरव बढाउन उनीहरूको योगदानको सराहना गरे। उनले युवा खेलाडीहरूलाई जोश र उद्देश्यका साथ क्रिकेट खेल्न प्रेरित पनि गरे।
मुख्यमन्त्रीले 2016 मा स्थापना भएदेखि नै एनईसीडीसीको विकासक्रमलाई प्रकाश पार्दै एनईसीडीसीएले 2018 मा छ उत्तरपूर्वी राज्यहरू अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किमको लागि बीसीसीआईको सदस्यता प्राप्त गर्न यसको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे। यस सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदिएको उनले अवगत गराए।
मुख्यमन्त्रीले परिषद्का निरन्तर पहलहरू जस्तै अन्तर-राज्य प्रतियोगिताहरू, क्षमता विकास कार्यक्रमहरू र एचिभर्स नाइट जस्ता कार्यक्रमहरूले अनुशासन, टिमवर्क र खेलकुद उत्कृष्टताको संस्कृति विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। राजस्थानमाथि सिक्किमको जित र मुम्बईमाथि मेघालयको जित जस्ता उल्लेखनीय उपलब्धिहरू उद्धृत गर्दै मुख्यमन्त्रीले यी विजयहरू यस क्षेत्रको उदाउँदो क्रिकेट प्रतिभा र बढ्दो आत्मविश्वासको बलियो सूचक रहेको ठहर गरे।
क्रिकेटमा आफ्नो व्यक्तिगत संलग्नताको बारेमा चर्चा गर्दै मुख्यमन्त्रीले लगभग एक दशकसम्म सिक्किम क्रिकेट संघको अध्यक्षको रूपमा नेतृत्व गर्दाको आफ्नो अनुभव साझा गरे। उनले सीमित स्रोतसाधन र संस्थागत सहयोगका कारण सामना गर्नुपरेका प्रारम्भिक चुनौतीहरू र सामूहिक दृढ संकल्प र व्यक्तिगत योगदानले खेललाई कसरी जीवित राख्यो भन्ने कुराको सम्झना गरे। मुख्यमन्त्री बीसीसीआईको सम्बद्धतालाई महत्त्वपूर्ण उपलब्धि बताउॅंदै यस क्षेत्रमा क्रिकेटको विकासलाई निरन्तर सहयोग गरेकोमा बीसीसीआईप्रति कृतज्ञता व्यक्त गरे।
मुख्यमन्त्री खेलकुद पूर्वाधार, प्रतिभा विकासमा निरन्तर लगानी, र कुनै पनि योग्य खेलाडी पछाडि नपरोस् भनेर एनईसीडीसीसँग सहकार्यको आश्वासन दिए। उनले यस प्रेरणादायी कार्यक्रमको हिस्सा बन्ने अवसर दिएकोमा आयोजकहरूलाई धन्यवाद दिए भने सबै सहभागीहरूलाई सुन्दर हिमाली राज्य सिक्किममा स्वागत जनाए।