गान्तोक, 05 मई। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले आशिष राईमाथि आज भएको हमलाको सन्दर्भमा सदर थानामा प्राथमिकी दर्ता गराएको छ। सीएपी सिक्किमका अध्यक्ष गणेश राईको अगुवाईमा आज पार्टीको एक प्रतिनिधि टोलीले सदर थानामा प्राथमिकी दर्ता गराए।
पछि, पत्रकारहरूसॅंग कुराकानी गर्दै सीएपी अध्यक्ष गणेश राईले आज बिहान लगभग 9:40 बजी चानमारीमा पार्टीका नेता आशिष राईमाथि मास्क लगाएका लगभग 8 जना मास्कधारीहरूले छुरी र मार्तोलले प्राणघातक हमला गरेको जानकारी गराए। उनले केही दिनअघि यसरी नै आनन्द राईमाथि हमला भएको थियो भन्दै यसलाई प्रजातन्त्र र जनतामाथिको हमला ठहर गरे।
असामाजिक तत्वहरूले सरकारको नीतिको विरोध गर्नेहरू विरुद्ध आक्रमण गरिरहेको छ भन्दै यी घटनाहरूले यसमा सत्तारुढ़ पार्टीको हात छ भन्ने स्पष्ट हुन्छ भनी अध्यक्ष राईले आरोप लगाए। उनले वर्तमान सरकारलाई इनटलरेन्टको संज्ञा दिॅंदै भने, सरकारले प्रजातन्त्रलाई मान्दैन। उनले घटना विरुद्ध सदर थानामा प्राथमिकी दर्ता गरिएको र पुलिसले कारबाही गर्नेछ भन्ने आशा व्यक्त गरे। पुलिसबाट कारबाही नभएको खण्डमा पार्टी बाटोमा उत्रिने र प्रजातन्त्रको सुरक्षाको लागि नेताहरूको सुरक्षा गर्न पार्टी आफैले कारबाही गर्ने चेताउनी पनि दिए।
प्रश्नहरूको जवाफमा सीएपी अध्यक्ष राईले भने, आशिष राई सिक्किमे ड्राइभर, गरीब र बेरोजगारहरूको आवाज बनेका थिए। उनको आवाजले सत्तारुढ़ पार्टीलई नोक्सानी भइरहेको थियो। उनले उठाएका कुराहरूलाई सम्बोधन गर्नुको सट्टामा हमला गरिएको छ।
अर्कोतिर, उनले सत्तारुढ़ पार्टीमाथि राज्य बाहिरबाट मान्छेहरू ल्याएर राखेको र यस सम्बन्धमा पहिले पनि पुलिस महानिदेशकलाई जानकारी गराएको दाबी गरे। आज बिहान हमला गर्नेहरूले वाहनको नम्बर प्लेट छोपेका थिए भन्दै कसको आंटमा यसरी वाहन चलाउन सकिरहेका छन् भन्दै उनले प्रश्न गरे। उनले हमलाकाण्डको जानकारी केन्द्रिय गृह मन्त्रालयलाई गराइसकेको र राज्यपालसॅंग पनि भेट गरेर जानकारी गराउने बताए।
उल्लेखनीय छ, सिजिटन एक्सन पार्टी, सिक्किमका नेता आशिष राईमाथि आज बिहान कथित केही अज्ञात व्यक्तिहरूले हमला गरे। यस हमलामा उनको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ। उनी अहिले एसटीएनएम अस्पतालमा उपचाराधिन छन्।

Leave a comment