गान्तोक, 16 मई। सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको एक भागको रूपमा आज मनन केन्द्रमा एक कार्यक्रम आयोजन गरियो, जसमा राज्यप्रति उल्लेखनीय योगदान पुऱ्याउने व्यक्तित्वहरूलाई सम्मानित गरियो। कार्यक्रममा राज्यपाल ओम प्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दर विशिष्ट अतिथि थिए।

यस अवसरमा सार्वजनिक सेवा, संस्कृति र सामुदायिक विकासमा उल्लेखनीय योगदान पुऱ्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मानित गरियो। यस क्रममा फिल्म अभिनेता डेनी डेञ्जोङपा, साहित्यकार जीएस लामा, ओलम्पियन तरुणदीप राई, कलाकार सोनाम छिरिङ लेप्चा, फुटबल खेलाडी भाइचुङ भोटिया, साहित्यकार नोर्देन छिरिङ भोटिया, समाज सेवक कीपू छिरिङ लेप्चा, साहित्यकार केदारनाथ गुरुङ, कलाकार हिल्दामित लेप्चा, साहित्यकार बीबी मुरिङ्गला, समाज सेवक द्रौपदी घिमिरे, चित्रकार खाण्डू वाङचुक भोटिया, कृषक तुलाराम उप्रेती, शिल्पकार जोर्डन लेप्चा, कलाकार नरेन गुरुङ, स्वतन्त्र सेनानी त्रिलोचन पोख्रेल, स्वतन्त्र सेनानी हेलेन लेप्चा र खेलाडी सन्ध्या गुरुङ सामेल छन्। यी सबै प्रतिष्ठित पद्म श्री पुरस्कारले पुरस्कृत विशिष्ट व्यक्तित्वहरू हुन्।

कार्यक्रममा संस्कृति विभागका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। यस अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्ण कुमारी राई, विधानसभा अध्यक्ष र उपाध्यक्ष, मन्त्रीगण, विधायकगण, सल्लाहकरगण, अध्यक्षगण, विभिन्न विभागीय वरिष्ठ अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
