गान्तोक, 30 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले हाल कथित बन्द अवस्थामा रहेको रानीपुल टाटा (ट्रक) स्ट्यान्ड तत्काल खोल्न माग गरेको छ। स्ट्यान्ड बन्द हुँदा स्थानीय व्यवसायी, सवारीधनी तथा आम नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेको पार्टीको भनाई छ।
सीएपीले आज जारी प्रेस विज्ञप्तिमा भनेको छ, रानीपुल टाटा (ट्रक) स्ट्यान्ड विगत ६ महिनाभन्दा बढी समयदेखि सरकारद्वारा बन्द गरिएको छ। तर, किन बन्द गरिएको हो भन्ने विषयमा सरकारले अहिलेसम्म स्पष्ट जानकारी सार्वजनिक गरेको छैन।
सीएपीले भनेको छ, स्ट्यान्ड बन्द हुँदा स्थानीय व्यवसायी, सवारीधनी तथा आम नागरिक प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। विशेषगरी रानीपुल बजार आउने सर्वसाधारणका लागि यो स्ट्यान्ड ठूलो पार्किङ क्षेत्रको रूपमा प्रयोग हुँदै आएको महत्वपूर्ण सार्वजनिक स्थान हो।
यदि स्ट्यान्ड बन्द राख्नुको कुनै ठोस कारण छ भने सरकारले जनतासामु स्पष्ट जानकारी दिनुपर्छ भनी सीएपीले माग गरेको छ। अन्यथा, महिनौँसम्म यस्तो महत्वपूर्ण सार्वजनिक स्थान बन्द राख्नुको औचित्य के? भनी प्रश्न पनि गरेको छ।
आम जनता, स्थानीय व्यवसायी र सवारीधनीको बृहत्तर हितलाई ध्यानमा राख्दै रानीपुल टाटा स्ट्यान्ड तत्काल खोल्न सीएपीले जोडदार माग गरेको छ। सार्वजनिक स्थान जनताकै हितमा प्रयोग हुनुपर्छ भन्दै सीएपीले रानीपुल टाटा स्ट्यान्ड तुरुन्त खोलियोस् भनेको छ।
Leave a comment


