
गान्तोक, 25 नोभेम्बर । सिक्किमका एक वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधानलाई ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित गरिएको छ। सिक्किम सरकारको सूचना एवं जनसम्पर्क विभागले आज राजधानीको मनन केन्द्रमा आयोजना गरेको ‘राष्ट्रिय प्रेस दिवस’ समारोहमा पत्रकार प्रधानलाई उक्त पुरस्कारले अभिनन्दित गरियो।
पत्रकार प्रधानलाई पत्रकारिता र अनुवादको क्षेत्रमा आजीवन योगदानको लागि ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित गरिएको हो। समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा पुरस्कार स्वरूप अंगवस्त्र, प्रशस्ति पत्र, स्मृति चिह्न र पॉंच लाख रूपियॉंको चेक अर्पण गरियो। अस्वस्थताका कारण अनुपस्थित पत्रकार प्रधानका सुपुत्रले आफ्ना पिताको पक्षमा पुरस्कार ग्रहण गरेका थिए।
यसैगरी, वरिष्ठ पत्रकार अम्बर गुरुङलाई आज ‘वाईएन भण्डारी उत्कृष्ट पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित गरियो। हिमालय दर्पणका सिक्किम संवाददाता पत्रकार गुरुङलाई मुख्यमन्त्री तामाङको बाहुलीद्वारा अंगवस्त्र, प्रशस्ति पत्र, स्मृति चिह्न र दुई लाख रूपियॉंको चेक अर्पण गरियो। अभिनन्दित पत्रकारले आफ्नो सम्बोधनमा मुख्यमन्त्री, आईपीआर विभाग, प्रेस क्लब अफ् सिक्किम र आफ्नो परिवारप्रति निरन्तर समर्थनको लागि आभार प्रकट गरे।

समारोहमा तीन जना पत्रकारलाई पनि आआफ्नो क्षेत्रमा उल्लेखनीय योगदानको लागि अभिनन्दित गरियो। यस क्रममा सिक्किम राजधानीका प्रकाशक सम्पादक हेम सुब्बालाई मानव अधिकार, नर्थइस्ट वेबसट्सका सम्पादक ललित दाहाललाई जलवायु परिवर्तन र हिन्दुस्थान समाचार न्यूज एजेन्सी, सिक्किमकी वरिष्ठ उप सम्पादक भवानी थामीलाई महिला मुद्दामा रिपोर्टिङका लागि ‘मुख्यमन्त्री पुरस्कार 2025 ले अभिनन्दित गरियो। पत्रकारहरूलाई मुख्यमन्त्रीको बाहुलीद्वारा अंगवस्त्र, स्मृति चिह्न, प्रशस्ति पत्र र पचास हजार रूपियॉंको चेक अर्पण गरियो।



