गान्तोक, 23 मार्च । राज्य खानी तथा भूविज्ञान विभागका मन्त्री पिन्चो नामग्याल लेप्चाले केन्द्रिय खानी मन्त्री जी. किशन रेड्डीलाई भेटेर प्रस्तावित मामले जीवाश्म पार्क मार्फत भू-सम्पदा स्थलहरूको विकास र संरक्षणका लागि परियोजनाको द्रुत स्वीकृति र सहयोगको लागि अनुरोध गरेका छन्। मन्त्री लेप्चाको साथमा खानी तथा भूविज्ञान विभागकी सचिव डिकी याङजोम र प्रधान निर्देशक पीटी भोटिया पनि थिए। केन्द्रिय मन्त्रीले परियोजनाको महत्त्वलाई स्वीकार गर्दै आवश्यक स्वीकृति र सहयोगका लागि सकारात्मक प्रतिक्रिया व्यक्त गरेको बताइएको छ।
यसैगरी, मन्त्री लेप्चाले खानी मन्त्रालयका सचिव पियुष गोयललाई भेटेर औपचारिक रूपमा परियोजनाको लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पेश गरे। बैठकमा मन्त्रीले मामले जीवाश्म पार्कको वैज्ञानिक, शैक्षिक र पर्यटन सम्भाव्यतामाथि प्रकाश पार्दै भूवैज्ञानिक सम्पदा संरक्षण र दिगो पर्यटन प्रवर्द्धनमा यसको महत्त्वलाई जोड दिए। खानी मन्त्रालयका सचिवले यस पहलको प्रशंसा गर्दै परियोजनाको सफल कार्यान्वयनको लागि मन्त्रालयबाट सबै सम्भव सहयोगको आश्वासन दिए।
प्रशासनिक र मन्त्रीस्तरीय स्तरमा समन्वित प्रयासहरूले मामले जीवाश्म पार्कलाई राष्ट्रिय महत्वको ऐतिहासिक परियोजनाको रूपमा विकास गर्न सरकारको प्रतिबद्धतालाई दर्साउॅंछ भनी बताइएको छ।
Leave a comment


