गान्तोक, 30 मई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको जिल्लास्तरीय कार्यकर्ता सभा आज नाम्ची जिल्लाको मल्ली निर्वाचन क्षेत्रअन्तर्गत सुम्बुकको थर्पु वार्डमा सम्पन्न भयो।
अध्यक्षीय सम्बोधनका क्रममा गणेश कुमार राईले सीएपी जनताको गरिमा र भविष्यको रक्षा गर्न स्थापना गरिएको पार्टी रहेको बताए। उनले अवहेलित, अन्याय पीडित तथा उपेक्षित नागरिकहरूको पक्षमा उभिने, सुशासन स्थापना गर्ने, समान न्याय सुनिश्चित गर्ने तथा नातावाद र परिवारवादको अन्त्य गरी युवाहरूलाई अवसर प्रदान गर्ने उद्देश्यसहित पार्टीको स्थापना भएको बताए।
उनले विपक्षी दललाई सानो स्तरको कार्यकर्ता सभा आयोजना गर्न तथा माइक प्रयोग गर्न समेत अनुमति नदिनु सत्तारूढ दल सीएपीसँग डराएको प्रमाण भएको दाबी गरे। साथै, राजनीतिक विकृतिका कारण राज्यवासीहरूले दुःख भोग्नुपरेको उल्लेख गर्दै उनले दादागिरी र लोकतन्त्रविरोधी प्रवृत्तिको अन्त्य गरी विधि र कानुनअनुसार चल्ने सरकार स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
सीएपी अध्यक्ष राईले सीएपी सिक्किम वैचारिक धरातलमा उभिएको संगठन रहेको बताए, जसले आम जनतालाई प्रेरणा र नेतृत्व प्रदान गर्ने लक्ष्य राखेको छ। लोकतन्त्र स्थापनापछि केवल पार्टी र नेताहरू मात्र होइन, अब जनताले पनि जित्नुपर्ने अवधारणासहित पार्टी अघि बढिरहेको उनले बताए। उनले तानाशाही र हिंसात्मक राजनीतिले जनताको हित नगर्ने तथा त्यस्तो प्रवृत्तिले राज्यको अधोगति निम्त्याउने चेताउनी समेत दिए।
राज्यवासीहरूले ग्यास सिलिन्डरको समस्या भोगिरहेको वर्तमान अवस्थामा अध्ययनरत विद्यार्थी तथा आम नागरिकलाई निःशुल्क विद्युत् अनि इन्डक्सन उपलब्ध गराउन उनले सुझाउ पनि दिए। राईले सिक्किमका जनतालाई सशक्त बनाउन तथा सकारात्मक राजनीतिको पक्षमा निर्भीक रूपमा अघि आउन आह्वान गरे।
Leave a comment


