गान्तोक, 30 जून । मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमका एक प्रख्यात वास्तुकार, कलाकार तथा सांस्कृतिक व्यक्तित्व किरण रासाइलीको निधनमा गहिरो शोक व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेका छन्।मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा प्रख्यात वास्तुकार, कलाकार तथा सांस्कृतिक व्यक्तित्व किरण रासाइलीको निधनको खबरले अत्यन्त दुःखी बनेको बताएका छन्।स्वर्गीय रसाइलीले सिक्किमको वास्तुकला, कला, फोटोग्राफी तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको अतुलनीय योगदानले अमिट छाप छोडेको उनले उल्लेख गरेका छन्। आफ्नो सिर्जनशीलता, दूरदृष्टि तथा युवा प्रतिभालाई प्रोत्साहन गर्ने समर्पणमार्फत स्वर्गीय रसाइलीले असंख्य व्यक्तिहरूलाई प्रेरित गरेको उनले बताएका छन्।मुख्यमन्त्री यस दुःखद घडीमा उनका शोकसन्तप्त परिवार, आफन्त, मित्रजन तथा सम्पूर्ण कला-सांस्कृतिक समुदायप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्। साथै, दिवंगत आत्माको चिरशान्तिको कामना गरेका छन्।


