गान्तोक, 11 जुलाई । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले दक्षिण सिक्किमको लिङ्गी-पायोङ क्षेत्रअन्तर्गत चौँरी डाँडामा पैह्रोले व्यापक क्षति पुऱ्याएको बताउॅंदै सरकारले तुरून्तै सबै पीडितहरूलाई राहत दिलाउने र पुनर्वास गराउने कार्य गरिहाल्नु पर्छ भनेको छ। सरकारले पार्टी, जाति र धर्म नहेरी पीडितहरूलाई क्षतिपूर्ति दिलाउनु पर्छ भनी पार्टीले माग पनि गरेको छ।
एसडीएफ वरिष्ठ उपाध्यक्ष, प्रचार-प्रसार अम्बर राईले चौँरी डाँडाका पैह्रो पीडितहरूलाई सरकारले किन तुरून्तै क्षतिपूर्ति दिँदैन भनी प्रेस विज्ञप्तिमा प्रश्न गरेका छन्। उनले २०११ मा भुॅंइचालोले तहस नहस पारेको सिक्किमलाई पवन चामलिङको सरकारले पूर्ण क्षतिपूर्ति र तत्काल राहत दिलाएको दाबी गर्दै त्यसरी नै यहाँ क्षतिपूर्ति दिलाउनुपर्छ भनेका छन्।
उनले पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपले विफल भएको आरोप पनि लगाएका छन्। उनले लिङ्गी-पायोङको सडक अहिले वाहन होइन गोरू गाडा कुदाउन पनि हम्मे पर्ने स्थितिमा रहेको बताएका छन्। उनले भनेका छन्, ‘सरकारले यो सडकलाई तुरून्तै मरम्मति गर्नुपर्छ। एसडीएफ ती पैह्रो पीडितहरूका साथमा छ। सरकारले तुरून्तै पीडितहरूको पुनर्वास गराउनुपर्छ र पूर्ण क्षतिपूर्ति दिनुपर्छ।
Leave a comment


