नाम्ची, 27 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनअनुसार नाम्ची जिल्लाकी जिल्लापाल तथा जिल्ला आपदा प्रबन्धन प्राधिकरण (डीडीएमए) नाम्चीकी अध्यक्षा अनुपा ताम्लिङले जिल्ला प्रशासन जलपाइगढ़ीद्वारा आयोजित अनुग्रह राहत वितरण कार्यक्रममा सहभागी भई नाम्ची जिल्लाको समरदुङ क्षेत्रमा भएको सुरुङ दुर्घटनामा ज्यान गुमाएका पीडितहरूका परिवारलाई राहत रकम हस्तान्तरण गरिन्।मुख्यमन्त्रीले शोकसन्तप्त परिवारहरूले राहत प्राप्त गर्न सिक्किमसम्म यात्रा गर्नुपर्ने असुविधा नहोस् भन्ने उद्देश्यले उनीहरूकै गृह राज्यमा अनुग्रह राहत वितरण गर्ने निर्देशन दिएका थिए।कार्यक्रमका क्रममा सिक्किम सरकारद्वारा प्रदान गरिएको प्रतिव्यक्ति रु. ४,००,००० (चार लाख रुपियाँ) का दरले जलपाइगढ़ी जिल्लाका ११ जना मृतकका निकटतम परिवारका व्यक्तिहरूलाई अनुग्रह राहत वितरण गरिएको छ। यस राहतको उद्देश्य सुरुङ दुर्घटनाबाट प्रभावित शोकसन्तप्त परिवारलाई तत्काल आर्थिक सहयोग उपलब्ध गराउनु रहेको बताइएको छ।कार्यक्रममा नगराकाटा विधानसभा क्षेत्रका विधायक पुना भेङ्ग्रा, माल विधानसभा क्षेत्रका विधायक शुक्रा ओराओँ, जलपाइगढ़ीका अतिरिक्त जिल्लापाल (भूमि तथा भूमि सुधार) डा. हारिस राशिद (आईएएस), तथा जलपाइगढ़ी र नाम्चीका अधिकारीहरू पनि उपस्थित थिए। उल्लेखनीय छ, दक्षिण सिक्किमको नाम्ची जिल्लास्थित समरदुङमा निर्माणाधीन टिस्टा चरण-6 जलविद्युत् परियोजनाको सुरुङमा भएको कथित मिथेन ग्यास लिकका कारण 25 जनाको मृत्यु भएको छ। उक्त घटना 20 जुलाई, 2026 का दिन भएको थियो। यस घटनालाई लिएर सिक्किम सरकारले एउटा उच्चस्तरीय जाँच समिति पनि गठन गरेको छ। उक्त सिमितले घटनाको जाँच गरिरहेको छ भने जाँच पूरा भएपछि आफ्नो रिपोर्ट सरकारलाई बुझाउने छ।


