गान्तोक, 12 अगस्त। सिक्किम फुटबल एसोसिएसनको आयोजनामा सञ्चालन भइरहेको ८०औँ स्वतन्त्रता दिवस फुटबल प्रतियोगिता २०२६ अन्तर्गत सर छोग्याल टाशी नामग्याल मेमोरियल कप २०२६ को पहिलो सेमिफाइनलमा सन्त जोसेफ्स कलेजले एसएसबीलाई ३-२ गोलले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।राजधानीको पाल्जोर स्टेडियममा बुधबार सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले शुरुदेखि नै उत्कृष्ट खेल प्रदर्शन गर्दै आक्रामक शैली अपनाएका थिए।एसएसबीका जतिनले ११औँ मिनेटमा गोल गर्दै टोलीलाई शुरुआती अग्रता दिलाए। सन्त जोसेफ्स कलेजका रोनाल्ड सिंहले १९औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसपछि फुर्बा तामाङले ३९औँ मिनेटमा गोल गर्दै सन्त जोसेफ्स कलेजलाई २-१ को अग्रता दिलाए। यद्यपि, एसएसबीले बलियो पुनरागमन गर्दै जामखाओ पाओले ४९औँ मिनेटमा गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो। निर्णायक गोलका लागि दुवै टोलीले निरन्तर प्रयास गरिरहे पनि खेलको अन्तिम क्षणसम्म बराबरी कायम रह्यो। अन्ततः ९०+३औँ मिनेटमा उमेश कार्कीले निर्णायक गोल गर्दै सन्त जोसेफ्स कलेजलाई ३-२ को रोमाञ्चक जित दिलाए। यससँगै सन्त जोसेफ्स कलेजले प्रतियोगिताको फाइनलमा आफ्नो स्थान पक्का गरेको छ। उत्कृष्ट प्रदर्शन गरेका अशोक खवासलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।आज पूर्व सांसद हिस्से लाचुङ्पा विशिष्ट अतिथि तथा कलाकार श्यामा श्री शेर्पा अतिथिका रूपमा उपस्थित थिए। यसैगरी, सिक्किम फुटबल एसोसिएसनका अध्यक्ष मेनला इथेन्पा लगायत एसएफएका अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।


