पाकिम, 2026 अगस्त। मुख्यमन्त्री तथा रिनाक निर्वाचन क्षेत्रका विधायक प्रेमसिंह तामाङ आज मामरिङस्थित सरकारी वरिष्ठ माध्यमिक विद्यालयमा आयोजित स्वतन्त्रता दिवस पूर्व समारोह तथा फुटबल सेमिफाइनल कार्यक्रममा सहभागी बने। ८०औँ स्वतन्त्रता दिवसको अवसरमा रिनाक निर्वाचन क्षेत्रको स्वतन्त्रता दिवस समारोह समितिको आयोजनामा फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ।कार्यक्रममा शिक्षा, खेलकुद तथा युवा मामिला विभागका मन्त्री राजु बस्नेत, कृषि एवं बागवानी विभागका मन्त्री पुरण गुरुङलगायत मुख्यमन्त्रीका सल्लाहकार, पाकिम जिल्लाका अध्यक्ष र उपाध्यक्ष, पाकिमकी जिल्लापाल, पुलिस अधीक्षक आदि उपस्थित थिए।कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले ८०औँ स्वतन्त्रता दिवसको पूर्व समारोहको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै यस दिवसको महत्वमाथि प्रकाश पारे। भारतको २२औँ राज्यका रूपमा सिक्किमको यात्रालाई स्मरण गर्दै उनले विगत पाँच दशकमा राज्यले विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। सिक्किमको विकासमा निरन्तर सहयोग र योगदान पुर्याउने जनतालाई उनले धन्यवाद दिए।पाकिम जिल्लाको विकासबारे बोल्दै मुख्यमन्त्रीले जिल्ला स्थापना भएयता हासिल भएका प्रगतिहरूको उल्लेख गरे। उनले जिल्लाको पूर्वाधार तथा सार्वजनिक सेवाहरू सुदृढ़ गर्न विभिन्न पहलहरू अघि बढाइएको बताए। यस क्रममा जिल्ला अस्पताल, नयाँ जिल्ला प्रशासनिक केन्द्र भवन तथा आसाम लिङ्जेमा निर्माण भइरहेको मुख्यमन्त्री मोडल स्कूललाई प्रमुख विकासका रूपमा उल्लेख गरे।मुख्यमन्त्रीले जिल्लामा शहरी सुविधा, स्वास्थ्य सेवा, पर्यटन पूर्वाधार तथा सड़क सम्पर्क सुधारका लागि प्रस्तावित विभिन्न योजनाहरूबारे पनि जानकारी दिए। स्वास्थ्य क्षेत्रमा सरकारले गरिरहेको प्रयासबारे उल्लेख गर्दै उनले उपचारका लागि सहयोग आवश्यक पर्ने बिरामीहरूलाई सरकारले सहायता उपलब्ध गराउँदै आएको बताए।पाकिमलाई नमुना जिल्ला बनाउने उद्देश्यले निर्वाचित जनप्रतिनिधि तथा सार्वजनिक प्रतिनिधिहरूले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा मुख्यमन्त्रीले जोड दिए। विकासका लागि एकता, सामूहिक जिम्मेवारी तथा साझा दृष्टिकोण आवश्यक रहेको उनले बताए।मुख्यमन्त्री तामाङले २०२७ देखि आमा सशक्तीकरण योजनालाई विस्तार गरी ५० हजारभन्दा बढी लाभार्थीलाई समेटिने जानकारी पुनः दिए। साथै, १४ अगस्तमा आयोजना हुने राज्यस्तरीय तिरंगा यात्राबारे जानकारी दिँदै उनले स्वतन्त्रता दिवस समारोहअन्तर्गत आयोजना हुने कार्यक्रममा जनसहभागिताका लागि अपील गरे।यसअघि मामरिङ सरकारी वरिष्ठ माध्यमिक विद्यालयकी प्रधानाध्यापिका राधा शर्माले विद्यालयको दृष्टिकोण प्रस्तुत गर्दै संस्थाले हासिल गरेका उपलब्धि, विभिन्न पहल तथा विकासका आकांक्षाहरूबारे जानकारी दिइन्। उनले विद्यालयको निरन्तर विकासका लागि भविष्यका प्राथमिकता तथा थप ध्यान दिनुपर्ने क्षेत्रहरूबारे पनि प्रकाश पारिन्।कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङलाई रिनाक पर्यटन विकास समाज तथा आईडीसीसी 2026, रिनाक निर्वाचन क्षेत्रद्वारा सम्मान गरिएको थियो। निर्वाचन क्षेत्रमा पर्यटन प्रवर्द्धन तथा विकास, स्थानीय जीविकोपार्जन र सामुदायिक विकासमा सहयोग तथा आर्थिक आत्मनिर्भरता र जनकल्याणमा पुर्याएको योगदानको कदरस्वरूप उनलाई सम्मान गरिएको हो।यसैबीच, ८०औँ स्वतन्त्रता दिवस निर्वाचन क्षेत्रस्तरीय खुल्ला फुटबल प्रतियोगिता २०२६ को दोस्रो सेमिफाइनल खेल रियल आरिटार र रेन्जर्स १९ बीच सम्पन्न भयो। रोमाञ्चक खेलमा रियल आरिटारले रेन्जर्स १९ लाई ३-२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनायो।अन्तरविद्यालय निर्वाचन क्षेत्रस्तरीय अन्डर-१४ बोइज फुटबल प्रतियोगिताको फाइनल खेल रोड़ाथाङ वरिष्ठ माध्यमिक विद्यालय र पीएम श्री डिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयबीच सम्पन्न भयो। खेलमा पीएम श्री डिक्लिङ वरिष्ठ माध्यमिक विद्यालयले ४-१ गोलको जित हासिल गर्यो।


