गान्तोक, 22 अगस्त। सिटिजन एक्सन पार्टी सिक्किमको नामथाङ-रातेपानी विधानसभा क्षेत्र कार्यकारी परिषद् (एसीईसी) को मासिक समन्वय बैठक आज नामथाङ-मानेडांड़ा ग्राम पञ्चायत एकाइअन्तर्गत कामलेटमा सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य विगत केही महिनामा पार्टीले सञ्चालन गरेका संगठनात्मक गतिविधिहरूको समीक्षा गर्नु तथा विधानसभा क्षेत्रमा पार्टीको जमीनी संगठनलाई अझ सुदृढ़ बनाउनु रहेको थियो।सीएपीद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसार, नामथाङ रातेपानी एसीईसीका अध्यक्ष एमबी सुब्बाले अध्यक्षता गरेको बैठकमा बिमल खरेल, सल्लाहकार, प्रशान्त बाबु छेत्री, उपाध्यक्ष, यदुनाथ मिश्र, पञ्चायत परिषद्का राज्य महासचिव, हेलेन राई, नाम्ची जिल्ला महिला परिषद्की अध्यक्ष लगायत पार्टीका अन्य नेताहरू उपस्थित थिए।बैठकमा विगत केही महिनामा पार्टीद्वारा सञ्चालन गरिएका विभिन्न संगठनात्मक गतिविधि तथा पहलहरूको विस्तृत समीक्षा गरियो। विशेषगरी पार्टी सदस्यता विस्तार, जमीनी स्तरमा संगठनलाई थप सुदृढ बनाउने तथा नामथाङ रातेपानी विधानसभा क्षेत्रअन्तर्गतका विभिन्न वार्ड र ग्राम पञ्चायत एकाइहरूमा पार्टीको विचार, नीति तथा कार्यक्रमलाई आम जनतासम्म प्रभावकारी रूपमा पुर्याउने विषयमा विस्तृत छलफल भयो।यसका साथै, निर्वाचन क्षेत्रभित्र जनसहभागितामार्फत आर्थिक संकलनको प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा पनि गहन छलफल गरियो। यस क्रममा पारदर्शिता, जनसहभागिता तथा पार्टीका गतिविधिमा जनताको सामूहिक स्वामित्वलाई प्राथमिकता दिने विषयमा जोड दिइयो।बैठकले नामथाङ रातेपानी विधानसभा क्षेत्रका विभिन्न स्थानमा रहेका सडकहरूको दयनीय तथा जीर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। बैठकले सम्बन्धित निकायलाई अधुरा सडक निर्माण कार्यहरू यथाशीघ्र सम्पन्न गर्न तथा विद्यमान सडकहरूको उचित मर्मतसम्भार गर्न आग्रह गरेको छ। बैठकले नामथाङ रातेपानी विधानसभा क्षेत्रमा पार्टीको संगठनात्मक संरचनालाई अझ सुदृढ़ बनाउने, सदस्यता विस्तार गर्ने, जनस्तरसम्म पार्टीको पहुँच बढाउने तथा जनताका समस्या र आकांक्षासँग निरन्तर जोडिएर काम गर्ने सामूहिक संकल्प गरेको छ।


