गान्तोक, 25 अगस्त। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले सोमबार गुवाहाटीमा आयोजित पूर्वोत्तर सीमावर्ती रेलवे अन्तर्गत जोनल रेलवे युजर्स कन्सल्टेटिभ कमिटी (जेडआरयूसीसी) को बैठकमा सहभागिता जनाउँदै सिक्किममा जारी रेल परियोजनाहरूलाई तीव्र गतिमा अघि बढाउनुपर्ने आवश्यकतामा जोड दिएका छन्।बैठकका क्रममा सांसद सुब्बाले सिक्किमलाई प्रत्यक्ष रेलमार्गसँग जोड्न महत्वपूर्ण मानिएको सेवक-रम्फू रेलमार्ग परियोजनाको निर्माण कार्य शीघ्र सम्पन्न गर्न पूर्वोत्तर सीमावर्ती रेलवेलाई आग्रह गरे। उनले राज्यको कनेक्टिभिटी, पर्यटन, व्यापार, आर्थिक विकास तथा रणनीतिक महत्त्वलाई ध्यानमा राख्दै परियोजना समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।यसैगरी, उनले प्रस्तावित मेल्ली-दन्तम रेलमार्गका लागि भइरहेको फाइनल लोकेसन सर्भे तथा डिटेल्ड प्रोजेक्ट रिपोर्ट तयार गर्ने प्रक्रियालाई पनि शीघ्र अघि बढाउन माग गरे। सर्वेक्षण तथा डीपीआर निर्माणको काम यथाशीघ्र सम्पन्न गरी परियोजनालाई अनावश्यक ढिलाइबिना अगाडि बढाउनुपर्ने उनले बताए।सांसद सुब्बाले सिक्किमको दीर्घकालीन पूर्वाधार विकास, आर्थिक वृद्धि तथा जनताको आवागमन सहज बनाउन रेल कनेक्टिभिटीको विस्तार र सुदृढीकरण अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे। उनले रेलवे अधिकारीहरूलाई यी परियोजनाहरूलाई उच्च प्राथमिकता दिन आग्रह गरे।डा. सुब्बाले आज जारी प्रेस विज्ञप्तिमा सिक्किमका रेल कनेक्टिभिटी परियोजनाहरूलाई समयमै कार्यान्वयन गराउन आफूले रेल मन्त्रालय तथा पूर्वोत्तर सीमावर्ती रेलवेसँग निरन्तर पहल र समन्वय गर्दै जाने प्रतिबद्धता पनि दोहोर्याएका छन्।


