काठमाडौँ, २२ अक्टोबर २०२४: सिक्किमका पूर्व मुख्यमन्त्री एवम् सिक्किम डेमोक्रेटिक फ्रन्टका अध्यक्ष पवन चामलिङलाई नेपालकै प्रतिष्ठित खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वर्ष २०८० को ‘पद्मश्री साधना सम्मान’ प्रदान गरेको छ। साहित्य, संस्कृति, र समाज सेवामा पाँच दशक लामो योगदानका लागि चामलिङलाई यो सम्मानले विभूषित गरिएको बताइएको छ ।
काठमाण्डौमा आयोजित एक विशेष समारोह बीच चामलिङलाई प्रशंसा पत्र, पुष्पहार र नगद रु. ३ लाख सहित सम्मानित गरिएको थियो। उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार र बौद्धिक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

वरिष्ठ लेखक तथा समालोचक प्रा. कृष्ण गौतमलाई उपन्यास अद्वैत का लागि ‘पद्मश्री साहित्य पुरस्कार’ प्रदान गरियो भने वरिष्ठ राजनयिक डा. केदारभक्त माथेमालाई ‘पद्मश्री गौरव पुरस्कार’ प्रदान गरिएको थियो। खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले हरेक वर्ष साहित्य, संस्कृति र समाज सेवामा योगदान पुर्याउने श्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।
सम्मान ग्रहण गर्दै पवन चामलिङले उक्त पुरस्कारले आफूलाई गौरवान्वित बनाएको बताउँदै प्रतिष्ठानप्रति आभार व्यक्त गरे। उनले आफ्नो जीवनभर सिक्किमेली जनता, नेपाली भाषा, साहित्य, कला, र संस्कृतिको सेवामा समर्पित रहेको उल्लेख गर्दै यस सम्मानले आफ्नो समय सही ठाउँमा खर्च गरेको महसुस गराएको बताए।
चामलिङले नेपालीभाषीहरूका लागि नेपाल, विशेषगरी काठमाडौँ, साहित्य, कला, र संस्कृतिको तीर्थस्थान भएको बताए। साथै, प्रजातान्त्रिक व्यवस्थालाई सफल बनाउन जनताले सचेत भएर सही नेतृत्वको छनोट गर्नुपर्ने कुरामा जोड दिए।
समारोहमा उनले नेपालले विश्वभरिका नेपालीहरूको भाषा, साहित्य, र संस्कृतिको संरक्षणमा नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको मन्तव्य गरे। खेमलाल-हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानजस्ता संस्थाहरूले यस जिम्मेवारीलाई ग्रहण गर्नु सक्ने धारणा व्यक्त गरे।