गान्तोक, ११ जून । उत्तर सिक्किमको मंगन–माङ्शिला निवासी २३ वर्षीया अल्ट्रा धाविका मिनाकुमारी सुब्बाले सिक्किमको नाम चम्काउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अल्ट्रा म्याराथन प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्न सफल बनेकी छन्। पहाडी ठाउँ, उच्च उचाइ तथा चुनौतीपूर्ण मौसमकाबीच निरन्तर प्रशिक्षणता कारण उनी भारतकै अल्ट्रा रनरमध्ये एकको रूपमा चिनिन थालेकी छन्। मिना हाल गेजिङको खेलो इन्डिया स्मल सेन्टरमा प्रशिक्षणरत छिन्। उनलाई अनुभवी प्रशिक्षक तथा मार्गदर्शक गंगाहाङ सुब्बाले निरन्तर प्रशिक्षण र प्राविधिक सहयोग प्रदान गर्दै आएका छन्। प्रशिक्षकको मार्गदर्शन र आफ्नै समर्पणका कारण उनले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गर्न सफल भएकी छन्। धाविका सुब्बाले विभिन्न राज्यहरूमा आयोजित प्रतिष्ठित प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शनी गरेकी छन्। उनले अरुणाचलको तवाङ अन्तर्राष्ट्रिय फुल म्याराथनअन्तर्गत ४२ किलोमीटरको म्याराथनमा तेस्रो स्थान हासिल गरिसकेकी छन्। यसैगरि नागाल्यान्डमा सम्पन्न अल्ट्रा ट्रेल रनअन्तर्गत ४५ किलोमिटरमा प्रथम स्थान हासिल गरेकी छिइन्। यसबीच अरुणाचल प्रदेशमा सम्पन्न ५द किलोमिटर दुरीको ब्रुट अल्ट्रा म्याराथनमा दोस्रो स्थान प्राप्त गर्न सफल भइन्। सिक्किमको छाङ्गु अल्ट्रा म्याराथन जो ७५ किलोमिटर दुरीको थियो जसमा प्रथम स्थान हासिल गर्दै चार वर्ष पुरानो रेकर्ड तोडेकी थिइन्। उनले ७ घण्टा ५७ मिनटमा दौड पूरा गर्दै नयाँ रेकर्ड कायम गरेकी थिइन्। धाविका सुब्बाले उत्तराखन्ड सूर्यदेवभूमि च्यालेन्ज (११३ किलोमिटर) १९ घण्टामा पूरा गर्दै दोस्रो स्थान हासिल गरेकी थिइन्। उत्तराखन्डमा १५,००० फिटको उचाइमा आयोजित निति एक्स्ट्रिम अल्ट्रा म्याराथनमा दोस्रो स्थान पाएकी थिइन्। उनको निरन्तर सफलता केवल व्यक्तिगत उपलब्धि मात्र नभई सिक्किमका युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। सीमित स्रोतसाधनका बाबजुद दृढ इच्छाशक्ति, अनुशासन र कठिन परिश्रममार्फत राष्ट्रिय स्तरमा सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेकी छन्।
Leave a comment


