गान्तोक, 18 जून। इण्डियन हिमालयन काउन्सिल अफ् नालन्दा बुद्धिस्ट ट्र्याडिशन (आईएचसीएनबीटी) को एक प्रतिनिधि टोलीले आज मुख्यमन्त्री प्रेमसिंह तामाङसॅंग नयॉं दिल्लीमा शिष्टाचार भेट गऱ्यो। प्रतिनिधि टोलीको अगुवाई परिषदका अध्यक्ष परमपावन पद्म श्री थेग्त्से रिम्पोछेले गरेका थिए।
यस भेट अवधि बौद्ध समुदायको समर्थनमा सिक्किम सरकारले गरेका पहलहरूको बारेमा अर्थपूर्ण र रचनात्मक छलफल भएको बताइएको छ। मुख्यमन्त्रीले अरुणाचल प्रदेशदेखि लद्दाखसम्म राष्ट्रिय स्तरमा हिमालय क्षेत्रमा बौद्ध परम्पराहरूको प्रवर्द्धन र संरक्षणमा परिषद्ले गरिरहेका प्रशंसनीय प्रयासहरूको बारेमा जानेर खुशी लागेको बताएका छन्।
मुख्यमन्त्री यस महान कार्यलाई अगाडि बढाउन परिषद्को समर्पण र प्रतिबद्धताको सराहना गर्दै उनीहरूको प्रयासमा सरकारको निरन्तर सहयोगको आश्वासन दिएका छन्। उनले परिषद्लाई भविष्यका पहलहरू र सफलताको लागि शुभकामना व्यक्त गरेका छन्।

Leave a comment