गान्तोक, 06 जनवरी। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीको युवा प्रकोष्ठअन्तर्गत जिल्ला स्तरीय समन्वय सभा आज रम्फू, माझिटारस्थित बाघे खोलामा सम्पन्न भयो। सभामा एसकेएम युवा उपाध्यक्ष प्रभारी तथा विधायक सञ्जित खरेल र युवा अध्यक्ष लाक्पा मोक्तानको विशेष उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै युवाध्यक्ष लाक्पा मोक्तानले युवा शाखा पार्टीको एउटा महत्त्वपूर्ण आधार स्तम्भ रहेको उल्लेख गरे। उनले पार्टीका जिम्मेवारी र दायित्वहरू युवाहरूले अनुशासनमा रही वहन गर्नुपर्ने आवश्यकता औँल्याउँदै यही उद्देश्यले विशेष समन्वय सभा आयोजना गरिएको स्पष्ट पारे। अध्यक्ष मोक्तानले पार्टीले काम र योगदानको आधारमा विभिन्न युवा शाखाका पदहरूमा सदस्यहरूको मनोनयन गरिएको जानकारी गराउँदै वर्ष 2009 देखि पार्टी र नेतृत्वप्रति निष्ठावान रही अनुभवका साथ पार्टीको मेरुदण्डका रूपमा योगदान पुर्याएका युवाहरूलाई पार्टीले सम्मान गर्दै आएको र आगामी दिनमा पनि निरन्तर सम्मान गरिरहने बताए।
उनले समावेशी राजनीतिबाट पार्टीलाई ठूलो लाभ पुगेको उल्लेख गर्दै यो सोँच सिक्किमको राजनीतिमा यसअघि कसैले कल्पना गर्न नसकेको, तर पार्टी अध्यक्ष तथा मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वले सबैलाई एउटै सूत्रमा बाँध्ने काम गरेको बताए। यसै सोँचअनुसार विभिन्न तहमा सबैलाई मिलाएर जिम्मेवारी र दायित्व सुम्पिएको पनि उनले प्रष्ट पारे।
अध्यक्ष मोक्तानले अब जिल्लादेखि समष्टि स्तरसम्म जिम्मेवारी पाएका युवा शाखाले दिलोज्यानका साथ काम गर्नुपर्नेमा जोड दिँदै प्रत्येक समष्टिका पार्टी कार्यालयमा प्रत्येक महिना युवा प्रकोष्ठको समन्वय सभा आयोजना गरिने जानकारी दिए। साथै, सरकारद्वारा सञ्चालन गरिएका जनमुखी योजनाहरूको प्रचार-प्रसार गाउँसम्म पुर्याउँदै पार्टीलाई गाउँस्तरबाटै मजबुत बनाउन युवाहरूले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।
उनले सरकार गठन भएको 7 वर्ष पूरा हुन लागेको उल्लेख गर्दै अधिकांश जनमुखी योजनाहरू लक्ष्यअनुसार सम्पन्न भइसकेको र आगामी दिनमा नयाँ योजनाहरू ल्याइने जानकारी दिँदै यसको व्यापक प्रचारप्रसारमा युवाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताए। साथै, युवाहरूको कामको मूल्याङ्कनका आधारमा पार्टीले पदोन्नति गर्ने निर्णय लिएको जानकारी पनि उनले दिए।
युवा उपाध्यक्ष प्रभारी तथा विधायक सञ्जित खरेलले पार्टीले विगत 7 वर्षदेखि आफूलाई विश्वास गरेर महत्त्वपूर्ण जिम्मेवारी दिएकोमा पार्टी अध्यक्ष तथा पार्टीप्रति कृतज्ञता व्यक्त गरे। उनले युवा शाखा एकजुट र मजबुत रहेको उल्लेख गर्दै यसमा काम गर्न सधैँ उत्साहित रहेको बताए। उनले तत्कालीन सरकार र वर्तमान एसकेएम सरकारको तुलना गर्दै आज युवाहरूले पाएको सम्मान, स्थिरता र अवसरमा ठूलो अन्तर आएको उल्लेख गरे।
मुख्यमन्त्रीले गाउँ-गाउँमा काम गर्ने युवाहरूलाई प्रत्यक्ष चिन्ने र उनीहरूको समस्या बुझ्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले युवा शाखाको भूमिका अझ जिम्मेवार र सशक्त हुनुपर्नेमा जोड दिए। पार्टीमा अनुशासन अत्यन्त महत्त्वपूर्ण भएकाले सबैले मिलेर हातेमालो गर्दै काम गर्नुपर्नेमा उनले विशेष जोड दिए।
सभामा युवा महासचिव युगेन राईले युवा प्रकोष्ठमा नियुक्त केन्द्रिय सदस्य, जिल्ला कार्यकारिणी सदस्य तथा समष्टि स्तरीय कार्यकारी सदस्यहरूको सङ्ख्यात्मक विवरण प्रस्तुत गर्दै सबैको कार्यभार र जिम्मेवारीबारे स्पष्ट पारे। सभामा एसकेएम युवा प्रकोष्ठका वरिष्ठ नेतृत्वहरू, जिल्ला स्तरीय कार्यकारिणी साथै समष्टि स्तरीय संयोजकहरूको बाक्लो उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
Leave a comment


