गान्तोक, 16 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आज राज्य स्थापना भएको 50औं वर्षगाँठको उपलक्ष्यमा गान्तोक बाइपासस्थित पार्टी मुख्यालयको सभागृहमा ‘विगतको स्मरण,भविष्यको निर्माण’ विषयमा आधारित विशेष कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रम पूर्व मुख्यमन्त्री एवम् पार्टी अध्यक्ष पवन चामलिङको अध्यक्षतामा सम्पन्न भयो।
कार्यक्रममा उपस्थित पार्टी कार्यकर्ता तथा आम नागरिकलाई सम्बोधन गर्दै अध्यक्ष चामलिङले राज्य निर्माणमा विशिष्ट योगदान पुर्याउने विभूतिहरूको सम्झना गर्दै त्यस आन्दोलनका नेतृत्वहरूप्रति सम्मान प्रकट गरे। यसका साथै सम्पूर्ण सिक्किमवासीलाई एकजुट भई सिक्किमको भाग्य र भविष्य निर्माणमा लाग्न उनले अपील गरे।

सम्बोधनका क्रममा चामलिङले सिक्किमको समग्र विकास र नवनिर्माणमा एसडीएफ सरकारले पुर्याएको योगदानको स्मरण गरे। उनले आगामी दिनहरूमा सिक्किमले जटिल र बहुआयामिक चुनौतीहरूको सामना गर्नु पर्ने उल्लेख गर्दै ती चुनौतीहरू वैश्विक, राष्ट्रिय, क्षेत्रीय भूराजनीतिक अथवा स्थानीय हुनसक्ने बताए। उनले यी सम्पूर्ण चुनौतीहरूमाझ पनि सिक्किमेली जनताको सम्मान र गौरव विश्वमञ्चमा उच्च राख्न एसडीएफ पार्टीले निरन्तर प्रयास गरिरहेको बताए। उनले एसडीएफ पार्टी सधैं सिक्किमको भाग्य र भविष्यप्रति चिन्तित रहेको बताउॅंदै एसडीएफ सिक्किमलाई विश्वकै नमुना राज्य बनाउने दिशामा अग्रसर रहेको बताए।
कार्यक्रममा सिक्किमका प्रथम मुख्यमन्त्री स्वर्गीय एलडी काजी साथै भूतपूर्व मुख्यमन्त्रीहरू स्वर्गीय नर बहादुर भण्डारी, स्वर्गीय बीबी गुरूङ, स्वर्गीय सन्चमान लिम्बूको योगदानलाई सम्मानपूर्वक सम्झना गर्दै श्रद्धाञ्जलि अर्पण गरिएको जानकारी एसडीएफले आज विज्ञप्तिमार्फत दिएको छ।
