गान्तोक, 26 जून। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले बिहिबार सिङताम-खाम्दोङ समष्टिको सिमिकलिङजेमा ’10 मिनट पृथ्वी’ लाई कार्यक्रम आयोजित गऱ्यो। एसडीएफले सन् 2009 देखि नै यस कार्यक्रमलाई प्रत्येक वर्ष आयोजन गर्दै आइरहेको छ। एसडीएफ अध्यक्ष पवन चामलिङद्वारा रानी चाँपको बिरूवा रोपन गरी शुरूभएको उक्त कार्यक्रममा निर्वाचन आयोगका पूर्व आयुक्त सीपी ढकालको विषेश उपस्थिति रहेको थियो। कार्यक्रममा आफ्नो वक्तव्य राख्दै चामलिङले भने, एसडीएफ पार्टी सरकारमा रहँदा सम्पूर्ण विकास योजनाहरू पर्यामैत्री योजना थिए। सबै योजनाहरू दीर्घमियादी योजना थिए। ।995-96 साललाई हरित क्रान्ति वर्ष घोषित गरी जनचेतनाका लहर वर्षैभरी जगाइएको थियो। सिक्किमलाई कसरी राम्रो हुन्छ, सिक्किमेको आस्थालाई कसरी जोगाइराख्न सकिन्छ, पहिचान, सँस्कृति, धर्म, अस्तित्व र मान्यताहरूलाई कसरी बचाइराख्न सकिन्छ भन्ने कुरा ध्यानमा राखेर एसडीएफ सरकारले कार्य निष्पादन गरेको थियो।उनले विभिन्न उपायहरू निकालेर सिक्किमेको हितमा कार्य गर्ने एक मात्र पार्टी एसडीएफ हो भनी ठोकुवा गरे। उनले भने, 14 अगस्त, 1997 को दिन सिक्किमले प्लास्टिक ब्यान्ड गरेको हो, जुन कार्य भारतमै पहिलो थियो। सार्वजनिक स्थलमा धुम्रपान निषेध गरियो। त्यसका साथमा असडनशील पदार्थको प्रयोग पनि राज्यमा निषेध गरियो। कञ्चनजङ्घा आरोहणलाई निषेध गरियो। सिक्किमका पवित्र अन्य चुचुराहरूमा पनि आरोहण बन्द गरियो। चाम्लिङले जानकारी गराउँदै भने, ’24 मार्च, 2003 को दिन विधानसभामा सिक्किमलाई जैविक राज्य बनाउने विधान बनाएर 31 दिसम्बर, 2015 मा सिक्किम जैविक राज्य बन्यो। भुइँचालोले ध्वस्त पारेको सिक्किमका पूर्वाधारहरू भइँचालोले हतपत नलडाउने गरी पुनर्निर्माण गर्यौं। जसरी लिटल बोइले हिरोसिमालाई ध्वस्त पारेको थियो त्यसरी नै वर्तमान मुख्योमन्त्रीले सिक्किमलाई लथालिङ पारेको छ।एसडीएफ अध्यक्षले कार्यक्रममा नवीन घोषणाहरू पनि गरे, जसमा एसडीएफ पार्टीलाई जनताले फेरि सरकारमा फर्काइल्याए राज्यको सत्तरी प्रतिशत बजेट गाउँमा फर्काउने, ल्याएमा जनताको खुशहाली बढाउने अर्थनीति लागू गरिने, सिक्किम वेलबिङ इकोनोमिक पोलिसी लागू गरिने, 19 देखि 40 वर्षसम्मका शिक्षित बेरोजगारहरूले एउटा न एउटा सरकारी नोकरी पाउनै पर्ने कानून बनाइने, राज्यमा इमप्लोइमेन्ट एक्ट लागू गरिने, कृषकलाई महिनाको बीस हजार रूपियाँ किसान भत्ता दिइने, उद्योगमा काम गर्ने सिक्किमे कामदारलाई मासिक तीस हजार रूपियाँ वेतन दिइने, एमआर, एडहक, वर्कचार्ज कर्मचारीलाई मासिक पचास हजार रूपियाँ वेतन दिइने आदि सामेल छन्।


