मङ्गन, 26 फरवरी। भारत सरकारका रक्षा राज्यमन्त्री संजय सेठले बिहिवार उत्तर सिक्किमको चुङथाङ र लाचेन सड़क खण्डमा अत्यन्त महत्वपूर्ण सम्पर्क पुनःस्थापना गर्दै नवनिर्मित तरम चु स्टिल ब्रिजको उद्घाटन गरे। केन्द्रिय रक्षा राज्यमन्त्री सेठ दुई दिवसीय आधिकारिक भ्रमणमा आज सिक्किम आइपुगेका छन्। आफ्नो भ्रमणको पहिलो दिन उनले चुङथाङ र लाचेन सड़क खण्डलाई जोड्ने नवनिर्मित तरम चु स्टिल ब्रिजको उद्घाटन गरे।
आफ्नो सम्बोधनमा रक्षा राज्यमन्त्री सेठले कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बाबजुद छोटो अवधिमै पुल निर्माण सम्पन्न गरेकोमा बीआरओ र ग्रेफका कर्मचारीहरूको प्रशंसा गरे। उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ तथा राज्य सरकारलाई निरन्तर सहयोग र समन्वयका लागि आभार व्यक्त गरे।उनले यो पुलले लाचेन र छेउछाउका बासिन्दाहरूको जनजीवन सामान्य बनाउन सहयोग पुर्याउनुका साथै संवेदनशील सीमावर्ती क्षेत्रमा रणनीतिक आवागमन सुदृढ़ बनाउने बताए।
क्षेत्र विधायक तथा मन्त्री लेप्चाले उत्तर सिक्किम भ्रमण गरी बहुप्रतीक्षित पुल उद्घाटन गरेकोमा राज्यमन्त्रीप्रति आभार व्यक्त गरे। उनले अक्टोबर २०२३ को ग्लेसियल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ) र त्यसपछिका प्राकृतिक आपदाका कारण जनजीवन र सम्पर्क प्रणालीमा ठूलो असर परेको जानकारी गराए। उनले राज्य सरकार तथा मुख्यमन्त्रीको तर्फबाट ग्रेफ र बीआरओका कर्मचारीहरूले अत्यन्त कठिन परिस्थितिमा निरन्तर र समर्पित सेवा पुर्याएकोमा हार्दिक प्रशंसा व्यक्त गरे।
स्मरण रहोस्, भारी वर्षा, आकस्मिक बाढी, जुन २०२४ को चक्रवात रेमल तथा मई-जून, २०२५ को विनाशकारी क्लाउडब्रटका कारण उत्तर सिक्किमको पूर्वाधारमा व्यापक क्षति पुगेको थियो। तरम चु माथिको पुरानो पुलसहित धेरै महत्वपूर्ण पुलहरू बगाउँदा लाचेनतर्फको सम्पर्क गम्भीर रूपमा प्रभावित भएको थियो, जसले पर्यटन, अत्यावश्यक आपूर्ति र रणनीतिक आवागमनमा अवरोध सिर्जना गरेको थियो।तरम चु माथि नवनिर्मित ४०० फुट लामो बेली सस्पेन्सन स्टिल ब्रिज तथा २८ किलोमिटर लामो चुङथाङ-लाचेन सडकखण्डको पुनःस्थापना आपदापछिको पुनर्निर्माण प्रयासमा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको छ।
यस पुनःस्थापनाले चुङथाङ र लाचेनबीचको जीवनरेखा पुनःस्थापित गर्दै सर्वसाधारण र पर्यटकहरूको सहज आवागमन, अत्यावश्यक वस्तुको नियमित आपूर्ति, आपदा प्रतिकार क्षमता अभिवृद्धि तथा राष्ट्रिय सुरक्षासम्बन्धी ढुवानी व्यवस्थालाई सुदृढ़ बनाएको छ।
Leave a comment


