गेजिङ, २९ अक्टोबर। पश्चिम सिक्किमको गेजिङ जिल्लाअन्तर्गत उत्तरे बजारदेखि भारत-नेपाल अन्तरराष्ट्रिय सीमा नाका चिवाभञ्ज्याङसम्म आयोजित ‘चिवाभञ्ज्याङ १० के ट्रेल रन २०२६’ बिहीबार सम्पन्न भएको छ। प्रतियोगितामा स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी २२० भन्दा बढी धावकले सहभागिता जनाए।
उत्तरेस्थित टाइटानिक पार्कबाट शुरु भएको दौडलाई क्षेत्र विधायक सुदेश कुमार सुब्बा र विकास गोलेले हरियो झण्डा देखाएर शुभारम्भ गरे। दौड फिसरिस, कुनाबार, धनपाले, सेन्चुरी फेदीखोला तथा चित्रे हुँदै चिवाभञ्ज्याङमा पुगेर सम्पन्न भयो।
कार्यक्रममा मानेबुङ-देन्ताम पर्यटन विकास समितिका अध्यक्ष आरबी बिष्टसहित समितिका सदस्यहरू, जिल्ला पञ्चायतका प्रतिनिधि, विभिन्न विभागका अधिकारी, सुरक्षाकर्मी, प्रहरी, वन तथा स्वास्थ्य विभागका प्रतिनिधि, होटल व्यवसायी, स्थानीय सङ्घसंस्था, गाउँले र राजनीतिक कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।सिक्किमका साथै भारतका विभिन्न राज्यबाट धावकहरूले प्रतियोगितामा नाम दर्ता गराएका थिए। नेपाल र भुटानका धावकहरूले समेत सहभागिता जनाए। ‘दिगो भोलिका लागि जिम्मेवार पर्यटन’ भन्ने नाराका साथ देन्ताम सिक्किमको पर्यटन विकास सोसाइटीले आयोजना गरेको यस प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत पर्यटन प्रवर्द्धन गर्नुका साथै प्राकृतिक सौन्दर्य र पर्यावरणको संरक्षण गर्दै दिगो पर्यटनलाई प्रोत्साहन गर्नु रहेको छ।१० हजार मिटर लामो यस दौडले हिमाली भूभाग, हरियाली वनजङ्गल र मनोरम प्राकृतिक दृश्यबीच दौडिने विशेष अनुभव प्रदान गरेको आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय खेलाडीलाई प्रोत्साहन गर्नुका साथै सिक्किमको सांस्कृतिक सम्पदा र प्राकृतिक आकर्षणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।दौड पाँचवटा विधामा सञ्चालन गरिएको थियो। विभिन्न विधाका विजेताहरूलाई नगद पुरस्कार तथा प्रमाणपत्रसमेत प्रदान गरियो भने दौड पूरा गर्ने धावकहरूलाई पदक प्रदान गरिएको थियो।खुल्ला पुरुष तथा महिला विधामा प्रथम हुनेलाई ३५ हजार रुपियाँ, द्वितीय हुनेलाई २५ हजार रुपियाँ र तृतीय हुनेलाई १५ हजार रुपियाँ पुरस्कार प्रदान गर्ने गरियो। १८ देखि ३५ वर्ष उमेर समूहका पुरुष तथा महिला धावकहरूका लागि पनि नगद पुरस्कारसहित पदकको व्यवस्था गरियो।कार्यक्रमका प्रमुख प्राविधिक प्रतिनिधि म्याराथन म्यान अमर सुब्बा रहेका थिए।
Leave a comment


