चुङथाङ, 30 जनवरी। जिल्लाव्यापी सरकारी सम्पत्ति संरक्षण अभियान अन्तर्गत आज चुङथाङमा भूमि राजस्व तथा आपदा प्रबन्धन विभागअन्तर्गत पर्ने सरकारी जमिनको निरीक्षण गरियो।उक्त निरीक्षण चुङथाङका एसडीएम अरुण क्षेत्रीको नेतृत्वमा र राजस्व विभागका कर्मचारीहरूको सहभागितामा सम्पन्न भएको बताइएको छ।निरीक्षणका क्रममा आधिकारिक अभिलेख तथा भू–नक्साका आधारमा भूमि राजस्व तथा आपदा प्रबन्धन विभागको स्वामित्वमा रहेको जमिनमा एउटा अस्थायी संरचना निर्माण गरिएको पाइयो।सम्बन्धित व्यक्तिलाई सरकारी सम्पत्ति संरक्षण अभियानको उद्देश्यबारे जानकारी गराउँदै यो अभियान सिक्किम सार्वजनिक परिसर (अनधिकृत कब्जाधारीहरूको बेदखली तथा भाडा असुली) ऐन, १९८० का प्रावधानअनुसार सञ्चालन भइरहेको स्पष्ट पारिएको जनाइएको छ। उक्त ऐनअनुसार कुनै पनि कानुनी कारबाही अघि सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष प्रस्तुत गर्ने अवसर प्रदान गरिने जानकारी पनि दिइयो।निरीक्षणका क्रममा अधिकारीहरूले सरकारी जमिन तथा सार्वजनिक सम्पत्तिहरू जनकल्याणका लागि अत्यन्त मूल्यवान सार्वजनिक सम्पत्ति भएको उल्लेख गर्दै कुनै पनि प्रकारको अतिक्रमण वा अनधिकृत कब्जालाई कानुनअनुसार कडाइका साथ कारबाही गरिने पुनः स्पष्ट पारियो। यस अभियानअघि चुङथाङ एसडीएम कार्यालयले पशुपालन तथा पशु चिकित्सा सेवा विभाग र केही निजी जग्गाधनीहरूबीच रहेका अतिक्रमण तथा सिमाना विवादका विषयहरू आपसी सहमतिमा समाधान गरिसकेको जानकारी पनि दिइयो।अधिकारीहरूले सरकारी सम्पत्तिको पारदर्शी, उत्तरदायी तथा प्रभावकारी संरक्षण सुनिश्चित गर्न यो प्रवर्तन अभियान साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने बताए।


