गान्तोक, 28 अप्रेल। तीन सिक्किम बटालियन एनसीसी, नागरिक प्रशासन र स्थानीय सेनाको पहलमा आज छाङ्गु झील परिसरमा भाइब्रेन्ट भिलेज कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमको मुख्य उद्देश्य स्थानीयहरू र सैन्यबीचको सम्वन्धलाई मजबुत गराउनको साथै सीमाना क्षेत्रको विकासलाई बढावा दिनु रहेको थियो।
भाइब्रेन्ट भिलेजले जिम्मेवार पर्यटनलाई बढावा दिने, फोहोर प्रबन्धन अन्तर्गत मैला छुट्याउने विधिबारे स्थानीयहरूलाई जागरूकता गराउने, स्थानीय समुदायसॅंग मिलेर उनीहरूको परम्परा, संस्कृति र चुनौतीहरूको बारेमा राम्रो समझदारी विकसित गर्ने लक्ष्य लिएको छ। यस अवसरमा गत केही दिन अघि आतङ्कवादी आक्रमणमा ज्यान गुमाउने निर्दोष मानिसहरूको स्मरणमा एक मिनटको मौन धारण पनि गरियो।
उक्त कार्यक्रममा नर बहादुर भण्डारी डिग्री कलेज, एसआरएम र बुर्तुक सरकारी महाविद्यालका विद्यार्थीहरूले संस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरे। भारतीय सेनाद्वारा तोपखाना प्रविधिको प्रदर्शन र भारतीय सशस्त्र बल र सशस्त्र चिकित्सा सेवाहरूमा विभिन्न करियर अवसरहरूको विवरण दिने पावरपोइन्ट प्रस्तुति पनि कार्यक्रमका प्रमुख आकर्षणहरू थिए।

Leave a comment