गान्तोक, 23 अप्रेल। जम्मू-काश्मीरको पहलगाम जिल्लाको बैसारन घाटीमा मंगलवार आतङ्की हमला भएको छ। यस हमलामा कम्तिमा 28 जनाको मृत्यु भएको छ, जसमा अधिकांश पर्यटक रहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले हमलाको निन्दा गर्दै दोषीहरूलाई न्यायको कठघगरामा उभ्याइने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री साउदी अरबको भ्रमणमा थिए। उनले आफ्नो यात्रा बीचैमा समाप्त गरेर स्वदेश फर्किए। दिल्ली आइपुग्ने बित्तिकै उनी सुरक्षा सम्बन्धी महत्वपूर्ण बैठकमा सहभागी बनेका थिए।
पहलगाममा निर्दोष मानिसहरूमाथि भएको क्रूर आतङ्की हमलाको चौतर्फी निन्दा भइरहेको छ। देश विदेशका नेताहरूले यस कायरतापूर्ण घटनाप्रति आफ्नो कडा प्रतिक्रिया जनाएका छन्।
यसै क्रममा अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले ‘भारतसँग आतङ्कवाद विरुद्ध एकजुट छौं’ भनी बताएका छन्। यसरी नै रूसका राष्ट्रपति भ्लादिमिर पुतिनले घटनाप्रति दु:ख प्रकट गरेका छन्।
कांग्रेस नेता राहुल गॉंधीले गृहमन्त्री अमित शाह र काश्मीरका मुख्यमन्त्रीसँग फोनमा कुराकानी गरेर घटनाको बारेमा जानकारी लिएका छन्। उनले ‘पीडितहरूलाई न्याय दिलाउनु पर्छ’ भनी बताएका छन्।
गृहमन्त्री अमित शाह घटना लगत्तै कश्मीर पुगेका थिए। उनले आज घटना स्थल बैसारन घाटीको भ्रमण गरे। गृहमन्त्रीले पीडित परिवारहरूसॅंग पनि भेट गरे।
बलिउड अभिनेता अनुपम खेरले यस घटनालाई आफ्नो चलचित्रको दृश्यजस्तै दुखद बताएका छन्। पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले पनि यो हमला काश्मीरको सांस्कृतिक पहिचानमाथि भएको आक्रमण बताएकी छिन्। पहलगामका स्थानीय बासिन्दाहरूले मंगलवार सॉंझ मोमबत्ती बालेर ऱ्याली गर्दै आङ्कवादी हमलाको विरोध जनाएका छन्।
यस आतङ्की हमलामा मुम्बई, हरियाणा, उत्तराखण्ड, बिहार, कोलकाता, चण्डीगढ, कर्नाटक, गुजरात, तमिल नाडु आदि राज्यबाट घुम्न गएका पर्यटकहरूको मृत्यु भएको छ। नेपालबाट घुम्न आएका एक व्यक्तिको समेत मृत्यु भएको बताइएको छ।
आतङ्की हमलापछि त्रसित पर्यटकहरू आआफ्नो ठाउॅं फर्किन थालेका छन्। यस घटनाले सम्पूर्ण कश्मीरकै पर्यटन उद्योगमा नराम्रो प्रभाव परेको छ। यस हमलामा सामेल तीन आतङ्कीहरूको स्केच सार्वजनिक गरिएको छ।

Leave a comment