डा. हरिप्रसाद छेत्रीद्वारा लिखित ‘आत्मकथा’ पुस्तकको आज 6 माइलस्थित हर्कमाया महाविद्यालयको प्रेक्षागृहमा आयोजित एक कार्यक्रमबीच विमोचन भयो। यस अवसरमा मुख्य अतिथिकोरूपमा राज्यको शिक्षा विभाग मन्त्री राजु बस्नेत रहेका थिए भने विशिष्ट अतिथिमा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामा रहेका थिए।
स्मरण रहोस, डा. हरिप्रसाद छेत्री एक प्रतिष्ठित शिक्षाविद्, पूर्व सरकारी अधिकारी, र सामाजिक अभियन्ता हुन्, जिनको योगदान सिक्किम राज्यको ग्रामीण विकास र शिक्षा क्षेत्रमा महत्वपूर्ण छ। पिता डम्बरसिंह छेत्री र माता हर्कमाया छेत्रीका सुपुत्र, डा. छेत्रीले आफ्नो जीवनभर शिक्षा र समाजसेवामा समर्पित रहे। उनले ६४ वर्षको उमेरमा समाजशास्त्रमा पीएचडी गरे र विभिन्न विश्वविद्यालयहरूबाट शैक्षिक उपाधिहरू प्राप्त गरे। सरकारी सेवामा, उनले १९७१ मा कृषि अधिकारीका रूपमा आफ्नो यात्रा सुरु गरे र २००१ मा ग्रामीण विकास संस्थानका निर्देशकको पदबाट अवकाश लिएका हुन्।
डा. छेत्रीले गान्तोकमा भानुभक्त आचार्यको मूर्ति स्थापना, डम्बरसिंह कलेज र हर्कमाया कलेजको स्थापना, र हिमालयन फार्मासी संस्थानको स्थापना जस्ता कामहरूमा योगदान दिए।
सामाजिक नेतृत्वमा, उनी लायन्स क्लब गान्तोकका चार्टर अध्यक्ष, पीपल्स फोरमका महासचिव, र भारत स्काउट्स एन्ड गाइड्सका नेताका रूपमा सक्रिय रहे। उनलाई सिल्भर एलिफ्यान्ट पुरस्कार र अन्तर्राष्ट्रिय गोल्ड स्टार मिलेनियम अवार्डजस्ता प्रतिष्ठित पुरस्कारहरूले सम्मानित गरिएको छ।
हाल, डा. छेत्री गान्तोकमा आफ्नो परिवारसँग शान्तिपूर्ण जीवन बिताइरहेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्य अतिथि मन्त्री राजु बस्नेतले यस पुस्तकका लेखक हरिप्रसाद छेत्रीलाई बधाई एवम शुभकामना दिए। यो पुस्तकमा डा. छेत्रीले आफ्नो जीवनमा भोगेका घटनाहरूलाई समेटेर तयार पारेको बताए। उनले प्रसङ्ग फेर्दै एसकेएम पार्टी 2019 मा सरकारमा आएपछि मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा विभिन्न क्षेत्रमा विकास भएको उल्लेख गरे।
उनले उदाहरण दिँदै सिक्किम विश्वविद्यालयको धेरै वर्षसम्म पनि आफ्नो निजी क्याम्पस नरहेको र अहिलेसम्म पनि किरायाको घरमा सञ्चालन हुँदै आइरहेको जानकारी गराए। तर एसकेएम पार्टी सरकारमा आएपछि याङगाङमा सिक्किम विश्वविद्यालयको क्याम्पसको निर्माण कार्य युद्धस्तरमा सञ्चालन भइरहेको र अहिलेसम्म दुई तीनवटा विभाग त्यहाँ सारिएको अवगत गराए।
मन्त्री बस्नेतले अबको केही महिनामा नै सम्पूर्ण क्याम्पसको निर्माण कार्य पूरा हुने सम्भावना व्यक्त गरे। मुख्यमन्त्री तामाङले राज्यको बागडोर सम्हाल्नमा केही विलम्ब भएको उनले महसुस गरे। यदि पहिला नै मुख्यमन्त्री तामाङले राज्यको बागडोर सम्हालेको भए अहिलेसम्म राज्य धेरै अघि बढिसकेको हुन सक्ने थियो भनी उनले दाबी गरे।
यसै क्रममा पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाले आत्मकथा लेख्नको निम्ति लेखक इमान्दार हुनुपर्ने बताए। उक्त पुस्तक तयार गर्नको निम्ति लेखककोमा आँट र जाँगर पनि हुन आवश्यक छ भनी उनले बताए। लेखकले आत्मकथा लेख्दा आफूले जीवनमा भोगेका राम्रो र नराम्रो दुईवटै पाटालाई समेट्न आवश्यक रहेको बताउँदै यदि लेखकले आफ्नो नराम्रो पक्ष पुस्तकमा उल्लेख गर्न नसके पुस्तक अधुरो रहने उनले मन्तव्य प्रकट गरे। आत्मकथा लेखन क्षेत्रमा नेपाली समाज गरीब रहेको पनि उनले उल्लेख गरे। थौरे व्यक्तिहरूले मात्र आत्मकथा लेखेको उनले जानकारी गराए। यसरी नै साहित्य अनुवादमा पनि नेपाली समाज पछि परेको र गरीब रहेको उनले बताए।
यस पुस्तकको निरूपणात्मक मन्तव्य डा. टेकबहादुर छेत्री, प्रकाशकीय मन्तव्य राजा पुन्यानीले राखेका थिए। कार्यक्रममा सोही महाविद्यालयका विद्यार्थीहरूले गीत र नृत्य पनि प्रस्तुत गरेका थिए भने कविहरूले कविता पाठ गरेका थिए।


