गान्तोक, 04 अगस्त । आगामी 10 अगस्त 9औँ जन उन्मुक्ति दिवसको अवसरमा आयोजन गरिने ‘दोस्रो आमा सम्मान दिवस’ समारोहस्थल स्थानान्तरण गरिएको छ। उक्त कार्यक्रम पहिले नाम्चीको भाइचुङ स्टेडियममा आयोजना गर्ने तयारी चलिरहेको थियो भने अब पाकिम जिल्लाको रम्फूमा गरिने भएको छ।सिक्किम क्रान्तिकारी मोर्चाले आज जारी प्रेस-विज्ञप्तिमा उक्त जानकारी गराएको छ। विभिन्न सुविधा र जनताको सहजताका लागि रम्फू खेल मैदानमा सो कार्यक्रम आयोजन गर्ने आजको एक उच्चस्तरीय सभाले निर्णय गरेको जनाइएको छ। उच्चस्तरीय सभा आज सम्मान भवनमा पार्टी अध्यक्ष एवम् मुख्यमन्त्री प्रेमसिंह तामाङको अध्यक्षतामा बसेको थियो। विज्ञप्तिमा भनिएको छ, आमा सम्मान दिवसका अवसरमा आमाहरूका लागि दुईवटा विशेष उपहार सुनिश्चित गरिएको छ। प्रतिवर्ष आमा सम्मान पुरस्कार प्रदान गरिन्छ भने प्रगतिशील आमा पुरस्कार पनि दिइने निर्णय गरिएको छ। आमाहरूको जिम्मेवारी अनि परिवारप्रतिको कर्तव्यपरायणताको कदर गर्दै सिक्किम सरकारले आमाहरूलाई यस्ता पुरस्कारद्वारा सम्मानित गर्ने निर्णय गरेको हो। आज सम्मान भवनमा आयोजित समन्वय सभामा निर्णय लिइएअनुरुप प्रत्येक समष्टिबाट योग्य एकजना आमालाई 51,000 रुपियाँको आमा सम्मान पुरस्कार प्रदान गरिने छ। परिवार साथै समाजमा उत्कृष्ट सेवा प्रदान गर्दै आएका आमाहरू यस पुरस्कारका लाभार्थी हुनेछन्। यो पुरस्कार प्राप्त गर्ने आमाहरू ‘आमा सशक्तिकरण योजना’ अन्तर्गत लाभान्वित नभएका आमाहरू छनौट गरिने प्रावधान रहेको छ। अर्कोतर्फ, प्रगतिशील आमा पुरस्कारअन्तर्गत प्रत्येक समष्टिका एक-एकजना आमा सशक्तिकरण योजनाअन्तर्गत लाभान्वित आमाहरू छनौट गरिनेछ। यस मापदण्डमा आमा सशक्तिकरण योजनाअन्तर्गत प्राप्त पुरस्कार राशिलाई ब्याङ्क खातामा जमा गरी आर्जन बढ़ाउन सक्षम आमाहरूले यो पुरस्कार प्राप्त गर्नेछन्। सबैभन्दा धेरै बचत गर्दै प्रथम हुने आमालाई 5 लाख रुपियाँ, दोस्रोलाई 3 लाख र तेस्रो हुने आमालाई 2 लाख रुपियाँ प्रदान गरिनेछ। साथै प्रतिवर्ष प्रदान गर्दै आएको आमा सशक्तिकरण योजना अन्तर्गत 32,000 जना आमा उक्त दिन लाभान्वित हुनेछन्। बेरोजगार, विधवा, सम्बन्धविच्छेद भएका 40 देखि 59 उमेर वर्गका आमाहरू यस योजनाबाट वार्षिक रूपमा 40,000 रुपियाँ प्राप्त गर्नेछन्। उक्त दिन आमा सम्मान दिवसको थप गौरव र गरिमा बढ़ाउँदै सिक्किम राज्य ब्याङ्कले प्रत्येक जिल्लाका तीनजना योग्य आमाहरूलाई क्रमशः 2 लाख, 1 लाख अनि 50 हजार रुपियाँद्वारा सम्मानित गर्नेछ। यस पुरस्कारका लागि पनि आमा सशक्तिकरण योजना प्राप्त गर्ने आमाहरूमध्ये जसले अधिक बचत गर्छन् उनीहरूलाई उपरोक्त पुरस्कार ब्याङ्कद्वारा प्रदान गरिने प्रावधान रहेको छ।मुख्यमन्त्रीले मन्त्रीगण, विधायकगण, राजनीतिक सचिवहरू, सल्लाहकारगण, अध्यक्ष, ओएसडीहरू अनि पार्टी कार्यकर्ताहरूलाई आगामी समारोहको भव्य सफलता सुनिश्चित गर्नका लागि समन्वय गर्न निर्देशन दिएका छन्। पुरस्कार वितरणका लागि लाभार्थीहरूको छनौट पनि निष्पक्ष र पारदर्शी ढङ्गमा गर्न मुख्यमन्त्रीले निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ।


