गान्तोक, 31 मार्च । सिङताम पुलिसले प्रतिबन्धित नशालु पदार्थको बिक्री-बितरणको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ। आरोपीहरूले सिङतामको लाल बजारमा होटल सञ्चालन गर्थे।
पुलिस रिपोर्टका अनुसार, पुलिसलाई सिङतामको लाल बजारमा होटल सञ्चालन गर्ने उक्त दुई व्यक्ति प्रतिबन्धित नशालु पदार्थको अवैध बिक्री-बितरणमा सामेल रहेको विश्वसनीय सुत्रहरूबाट जानकारी प्राप्त भएको थियो। सूचनाको आधारमा पीआई लक्ष्मण गजमेरको अगुवाईमा पुलिस दलले स्वतन्त्र साक्षीहरूको उपस्थितिमा छानबिन गऱ्यो। यस क्रममा ब्राउन शुगर र कफ सिरपसहित संदिग्ध प्रतिबन्धित पदार्थको भारी मात्रा बरामद गरियो।
आरोपीहरूलाई पनि घटनास्थलबाट पक्राउ गरिएको छ। पक्रा पर्ने आरोपीहरूको नाम तौफिक आलम (21) र राहमुनु (31) बताइएको छ। उनी दुवै मूलरूपमा बिहारको किशनगञ्ज निवासी हुन् भने हाल सिङताममा बस्दै आएका छन्। पुलिसले आरोपीहरू विरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेको छ।
सिङताम पुलिसले लागूपदार्थ सम्बन्धी गतिविधिहरूलाई नियन्त्रण गर्ने र युवाहरूलाई लागूपदार्थको दुरुपयोगको खतराबाट जोगाउने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
Leave a comment


