गान्तोक, 21 मई। सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा सिक्किमको 50औँ राज्य स्थापना दिवस (स्वर्ण जयन्ती) समारोहमा सहभागिताका लागि स्वीकृति प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति हार्दिक स्वागत तथा आभार प्रकट गरेको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किमवासीको तर्फबाट आगामी 29 मई, 2025 मा आयोजना हुने कार्यक्रमका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा गरेका थिए, जसलाई प्रधानमन्त्रीले सद्भावपूर्वक स्वीकार गरेको एसकेएमले बताएको छ।
एसकेएम प्रवक्ता कृष्ण लेप्चाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, मुख्यमन्त्री प्रेमसिंह तामाङले हिजो नयॉं दिल्लीमा प्रधानमन्त्रीलाई सिक्किमको 50औँ राज्य स्थापना दिवसको कार्यक्रममा उपस्थितिका लागि औपचारिक रूपमा निमन्त्रणा दिएका थिए। यस भेटको अवसरमा मुख्यमन्त्रीले भारत सरकारले पाकिस्तानी आतङ्कवादीहरूविरुद्ध चलाएको अपरेशन सिन्दूरको खुलेर समर्थन जनाउँदै यसको सफलताका लागि सिक्किमको पक्षबाट प्रधानमन्त्री साथै केन्द्रिय नेतृत्व र भारतीय सेनालाई बधाई दिए।
एसकेएमले भनेको छ, सङ्कटपूर्ण राष्ट्रिय एवं अन्तरराष्ट्रिय परिस्थितिलाई पनि पर सारेर प्रधानमन्त्रीले सिक्किम भ्रमणको निमन्त्रणालाई सहर्ष स्वीकृत गर्नु सम्पूर्ण सिक्किमवासीका लागि सम्मान तथा गौरवको विषय हो। यो मुख्यमन्त्रीको केन्द्र सरकारसँगको सुमधुर सम्बन्ध, दूरदर्शिता र सशक्त नेतृत्व क्षमताको प्रतिफल हो। यसले सम्पूर्ण सिक्किमवासीमा थप गर्वको अनुभूति गराएको छ। मधुर सम्बन्ध रहेकै कारण केन्द्र सरकारले सिक्किम राज्य स्थापनाको पावन अवसरमा 50 रुपियाँको स्मारक सिक्का जारी गर्ने अधिकारिक घोषणा भइसकेको छ।
एसकेएमले विज्ञप्तिमा भनेको छ, प्रधानमन्त्रीको आगामी भ्रमण सिक्किमका लागि बहुपक्षीय रूपमा लाभदायक हुनेछ भन्ने हाम्रो पूर्ण विश्वास छ। प्रधानमन्त्रीको उपस्थितिले सिक्किममा थप पूर्वाधार विकास, पर्यटन तथा अन्य सामाजिक-आर्थिक क्षेत्रहरूमा नयाँ सम्भावनाको ढोका खोल्नेछ साथै केन्द्र सरकारमा थाँतीमा रहेका हाम्रा महत्त्वपूर्ण राजनीतिक मागहरू पूरा हुने नयाँ बाटो खुल्नेछ भन्ने विश्वास राखेका छौँ। यस ऐतिहासिक अवसरमा एसकेएम पार्टीले सम्पूर्ण सिक्किमे जनतालाई प्रधानमन्त्रीको स्वागतमा एकजुट भई सहभागी हुन हार्दिक आह्वान गरेको छ।

Leave a comment