गान्तोक, 05 अप्रेल। नेपाली साहित्य परिषद्, सिक्किमको कार्यकारिणी समितिको एउटा महत्वपूर्ण सभा 4 अप्रेल, 2025 का दिन अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा परिषद् भवनकै कार्यालय कक्षमा सम्पन्न भयो। सभा गत महिना आयोजित भएको वार्षिक साधारण सभाको समीक्षासँगै वैशाखी पर्व, 2082 को आयोजनालाई लिएर डाकिएको थियो।
सभामा गत महिना सम्पन्न भएको वार्षिक साधारण सभामाथि सभाले समीक्षा गर्दै परिषद्ले प्रथमपल्ट यसरी परिषद् भवन बाहिर गएर वार्षिक साधारण सभासँगै वनभोज पनि आयोजन गर्दा सदस्यहरूबीच आत्मीयता अझ बढ़ेर गएको अनि उनीहरूको सुझाउ तथा मन्तव्यको कारण वर्तमान कार्यकारिणी समितिलाई अझ बढ़ी काम गर्ने ऊर्जा मिलेको सभाले अनुभव गरेको बताइएको छ।
यसरी नै नेपाली साहित्य परिषद्, सिक्किमको वार्षिक कार्यक्रमअन्तर्गत पर्ने वैशाखी पर्व आयोजनामाथि सभाले चर्चा–परिचर्चा गर्दै यस वर्ष पनि वैशाखी पर्वको उपलक्ष्यमा वैशाखीमाथि वार्ता, साङ्गीतिक आदि कार्यक्रमहरू आयोजन गर्ने निर्णय सभाले लिएको छ। कतिपय कार्यक्रमहरूलाई ध्यानमा राख्दै आजको सभाले आगामी 13 अप्रेल, 2025 का दिन परिषद् भवनकै सभाकक्षमा दिउँसो 1 बजीदेखि वैशाखी पर्व, 2082 आयोजन गर्ने निर्णय लिएको प्रचार सचिव जोसेफ लेप्चाले आज जारी एक प्रेस विज्ञप्तिमा जानकारी गराएका छन्।