गान्तोक, 25 नोभेम्बर । युवा पत्रकार सुरज लिम्बूलाई ‘ग्रामीण पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित गरिएको छ। राजधानीको मनन केन्द्रमा आज आयोजित ‘राष्ट्रिय प्रेस दिवस’ समारोहमा पत्रकार लिम्बूलाई प्रेस क्लब अफ् सिक्किमले उक्त पुरस्कारले अभिनन्दित गरेको हो। समारोहको आयोजना राज्य सूचना एवं जन सम्पर्क विभागले गरेको थियो।
समारोहमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीद्वारा पत्रकार लिम्बूलाई अंगवस्त्र, प्रशस्ति पत्र, स्मृति चिह्न र 25 हजार रूपियॉं नगद अर्पण गरियो। ग्रामीण क्षेत्रका मुद्दाहरूलाई निरन्तर प्रकाशमा ल्याउने उल्लेखनीय कार्यको कदर गर्दै उनलाई उक्त पुरस्कारले अभिनन्दित गरिएको हो। पत्रकार लिम्बू सिक्किम न्यूज 24 का सम्पादक हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रेस क्लब अफ् सिक्किमका अध्यक्ष भीम राउतले समारोहमा अभिनन्दित पत्रकारहरूलाई बधाई दिए। उनले वर्तमान मुख्यमन्त्रीको दूरदर्शी नेतृत्वमा राज्य सरकारले सिक्किममा पत्रकारिता र पत्रकारहरूको उत्थान एवं कल्याणका लागि गरिएका विभिन्न पहलहरूको बारेमा जानकारी गराउॅंदै कृतज्ञता व्यक्त गरे।
प्रेस क्लबका संस्कृति सचिव पत्रकार निर्मल मंगरले सञ्चालन गरेको यस कार्यक्रममा युवा पत्रकारहरूले नृत्य प्रस्तुत गरेका थिए।
Leave a comment


