पाकिम, 02 जुलाई । ग्रामीण विकास विभाग, पाकिम जिल्लाले आज यहाँको सामुदायिक भवनमा राज्यस्तरीय जन सम्मेलन तथा ‘विकसित भारत रोजगार एवं आजीविका मिसनको ग्यारेन्टी (ग्रामीण) को शुभारम्भ कार्यक्रम आयोजना गरियो। यो कार्यक्रम आन्ध्र प्रदेशको तिरुपति जिल्लास्थित मुक्कावरिपल्ली गाउँबाट केन्द्रिय ग्रामीण विकास तथा कृषि एवं किसान कल्याण मन्त्री शिवराज सिंह चौहानद्वारा आज शुभारम्भ गरिएको देशव्यापी रूपमा वीबी-जी राम जीको शुभारम्भको एक भागको रूपमा गरिएको थियो।पाकिममा आयोजित कार्यक्रममा शिक्षा, खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत मुख्य अतिथिका रूपमा उपस्थित थिए।आफ्नो सम्बोधनमा मन्त्री बस्नेतले ‘विकसित भारत @२०४७’ को परिकल्पना प्रत्येक राज्य, जिल्ला र गाउँको समग्र विकासमार्फत मात्र साकार हुन सक्ने बताए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको ‘सुनौलो, समृद्ध अनि समर्थ सिक्किम’ को परिकल्पना विकसित भारत @२०४७ सँग पूर्ण रूपमा मेल खाने उल्लेख गर्दै ग्रामीण विकास नै विकसित राज्य र राष्ट्र निर्माणको आधार रहेको बताए। राज्य सरकारले ग्रामीण समुदायको आर्थिक तथा सामाजिक स्तर उठाउनका लागि विभिन्न कल्याणकारी तथा जीविकोपार्जनसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको जानकारी गराए। यस्ता योजनाको सफलता जनसहभागिता र स्थानीय स्वामित्वमा निर्भर रहने उल्लेख गर्दै उनले पञ्चायत प्रतिनिधि तथा सर्वसाधारणलाई सबै सरोकारवालासँग समन्वय गरी योजनाको प्रभावकारी कार्यान्वयनमा जुट्न आग्रह गरे। साथै विकास निर्माणका कार्यहरूको नियमित अनुगमन गर्न र गाउँको समग्र विकासका लागि सामूहिक रूपमा काम गर्न पनि उनले आह्वान गरे।


