गान्तोक, 20 जून। पाॅंच वर्षको लामो अन्तरालपछि फेरि सिक्किम भएर पवित्र कैलाश मानसरोवर तीर्थयात्रा शुरू भएको छ। आज, शुक्रवार तीर्थयात्रीहरूको पहिलो समूहलाई सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले भारत—चीन सीमा क्षेत्र नथुला पासबाट हरियो झण्डा हल्लाएर विधिवत प्रस्थान गराए।
नथुला पासबाट प्रस्थान गर्नुअघि तीर्थयात्रीहरूसॅंग राज्यपालले कुराकानी गर्दै तीर्थयात्रीहरूको सुस्वास्थ्यको निम्ति शुभकामना दिए। राज्यपालले यो ऐतिहासिक मार्ग पुन: आरम्भलाई अन्तरराष्ट्रिय मैत्री र भारतीय आध्यात्मिक परम्पराहरूको पुनर्स्थापनाको प्रतीक बताए, जसले बौद्ध, हिन्दू र जैन समुदायको आस्थालाई प्रतिबिम्बित गर्दछ।
राज्यपालले यो यात्रा पुन: आरम्भ गरिएकोमा प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार प्रकट गरे। उनले सिक्किमको मार्गबाट तीर्थयात्रीहरूलाई प्रस्थान गराउनु राज्यको निम्ति गर्वको कुरा रहेको बताए। उनले भने, यो ऐतिहासिक र आध्यात्मिक यात्रा राज्यको पवित्र भूमि भएर अगाडि बढिरहेको छ, जुन सिक्किम राज्यको निम्ति अत्यन्त गौरवको क्षण हो। उनले सिक्किम सरकार, भारत तिब्बत सीमा पुलिस र भारतीय सेनालाई आफ्नो सहयोगको निम्ति धन्यवाद दिए।

राजभवन अनुसार, 33 जना तीर्थयात्रीहरूमा दुईजना एस्कर्ट र एकजना डाक्टर पनि सामेल छन्। तीर्थयात्रीहरूले चिकित्सकीय परीक्षणका साथै सिक्किम आइपुगेर उच्च हिमालय परिस्थितिहरूका लागि दुई चरणमा अनुकूलन प्रक्रियालाई पूरा गरे। प्रथम चरणमा 18 माइलमा र त्यसपछि शेरेथाङमा तीर्थयात्रीहरूलाई अनुकूलनको निम्ति राखिएको थियो।
नथुला पासमा राज्यपाल माथुरले हरियो झण्डा हल्लाएर तीर्थयात्रीहरूलाई प्रस्थान गराए। यस अवसरमा सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा, मन्त्रीहरू टीटी भोटिया, पुरण गुरूङ र एनबी दाहाल, विधायकहरू पामिन लेप्चा, टीटी भोटिया र सुदेश कुमार लिम्बू, भारतीय सेनाका अधिकारीहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।
तीर्थयात्रीहरूलाई सीमा पारी चीनका अधिकारीहरूले स्वागत जनाउने व्यवस्था गरिएको थियो, जहॉंबाट उनीहरू कैलाश पर्वत र मानसरोवर झीलको निम्ति आफ्नो आध्यात्मिक यात्रा शुरू गर्नेछन्। यस यात्राको सम्पूर्ण व्यवस्था विदेश मन्त्रालय, भारत सरकार, सिक्किम पर्यटन विकास निगम र भारत तिब्बत सीमा पुलिसले गरिरहेको छ।
