
गान्तोक, २६ सेप्टेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किमका प्रदेश अध्यक्ष डीआर थापाको नेतृत्वमा पार्टीको प्रतिनिधिमण्डलले आज गेजिङ जिल्लाको युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी-तिम्रोङको पैह्रो प्रभावित क्षेत्रको भ्रमण गरी अवस्थाबारे जानकारी लिएको छ। प्रतिनिधिमण्डलमा प्रदेश उपाध्यक्ष एनके सुब्बा, महासचिव दिनेशचन्द्र नेपाल, जिल्ला अध्यक्ष दिगम लिम्बू, जिल्ला कार्यसमिति सदस्य, मण्डल अध्यक्ष तथा अन्य पदाधिकारी सहभागी थिए।
भाजपा मिडिया सेलद्वारा जारी प्रेस विज्ञप्तिमा अनुसार, टोलीले पञ्चायत अध्यक्ष मंगल राई तथा राहत सङ्कलन केन्द्रकी प्रभारी तारा गुरुङलाई अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेको छ। भ्रमणका क्रममा भाजपाको टोलीले पञ्चायत प्रतिनिधिहरूसँग भेट गरी पैह्रोबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लियो। करिब ३० परिवारलाई सुरक्षित रूपमा स्थानान्तरण गरी हाल राहत शिविरमा राखिएको जानकारी टोलीलाई दिएको बताइएको छ।
प्रतिनिधिमण्डलले पैह्रो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै विस्थापित तथा प्रभावित स्थानीय बासिन्दासँग भेट गरी उनीहरूको समस्या सुनेको थियो। प्रभावित परिवारहरूले आवास, अत्यावश्यक सामग्री तथा तत्काल आवश्यक सहयोगबारे आफ्ना समस्या राखे।
प्रदेश अध्यक्ष डीआर थापाले प्रभावित परिवारहरूलाई टोलीले सम्भव भएसम्म निरन्तर सहयोग गर्ने आश्वासन दिए। साथै प्रभावित क्षेत्रको अवस्था तथा पीडित परिवारका समस्याहरूबारे विस्तृत प्रतिवेदन केन्द्र सरकारसमक्ष पठाएर आवश्यक ध्यान र सहयोगका लागि पहल गरिने बताए।


