10 अप्रेल। बहुप्रतिक्षित सिक्किम प्रिमियर लिग (एसपीएल) 2025 आज नाम्चीको भाइचुङ स्टेडियममा एक भव्य उद्घाटन समारोहका साथ आधिकारिक रूपमा शुरु भएको छ। यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङले एसपीएल 2025 शुरू भएको आधिकारिक रूपमा घोषणा गरे।
सिक्किम प्रिमियर लिगको आयोजना सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागको तत्वावधानमा भइरहेको छ। सिक्किम फुटबल संघद्वारा समर्थित यस लिगको प्रवर्द्धन फुटबल विकास प्राइभेट लिमिटेडले गरिरहेको छ।
एसपीएल सिजन 1 र सिजन 2 को सफल आयोजनपछि आजदेखि शुरू भएको एक महिनाव्यापी एसपीएल सिजन 3 मा कुल नौ फुटबल दलहरूले भाग लिइरहेका छन्। जसमा सिक्किम आक्रमण एफसी, रेड पाण्डा एफसी, सिनल्चु एफसी, थन्डरबोल्ट नर्थ युनाइटेड, रोरिङ लेपर्ड एफसी, गेजिङ युनाइटेड एफसी, सिङलिङ स्पोर्टिङ क्लब, सिक्किम ड्र्यागन्स एफसी र ब्ल्याक ईगल्स एससी सामेल छन्।
सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन सिङलिङ स्पोर्टिङ क्लब र थन्डरबोल्ट नर्थ युनाइटेडबीच सम्पन्न भयो भने खेल 1-1 को बराबरीमा समाप्त भयो। सिङलिङ स्पोर्टिङ क्लबका जोन केनेडी म्यान अफ द म्याच घोषित भए भने इमर्जिङ प्लेयरको अवार्ड थन्डरबोल्ट नर्थ युनाइटेडका लाक्पा नोर्बु शेर्पालाई प्रदान गरियो।
उद्घाटन समारोह अन्तर्गत स्थानीय कलाकारहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।

Leave a comment