लैजा तेरो यो स्वतन्त्रता
जसले मलाई बन्दी बनाएको छ
लैजा तेरो यो सभ्यता
जसले मेरो चिनारी दबाएको छ
लैजा तेरो यो वाईलेनका धुनहरू
जसले मलाई केवल अनि केवल
लट्टाएको छ
बस्
दिनुसक्छस् भने
मलाई मेरो बचाईको एउटा क्रम दे
बजारेर तेक्दाहुने पक्का भुँई दे
जिन्दगीको एउटा धुन दे
बाँकी लैजा तेरो यो सुन्तले बिचारहरू
मैले घोप्टो कराईको कालो टिकाले पनि
भाग्य जोखेकै हो
मैले अछेता र खरानी छरेर पनि
सह बोलाएकै हो
बस्
मलाई म हुनुको एउटा पहिचान दे
‘मेरो’ एउटा परिभाषा दे
बाँकी लैजा तेरो यो बलिदानका कथाहरू
जसले आफ्नै देश हराएको छ
लैजा उत्सर्गका आख्यानहरू
जसले मलाई बोझ बनाको छ
लैजा चौरस्ता-दोबाटो र गेट अगाडि
उभ्याइएका मेरा मूर्तिहरू
जसले केवल अनि केवल लज्जा झेलेको छ
बस् दिनुसक्छस भने
मेरो भेष दे
मलाई परिवेश दे
अनि
दिन सक्छस भने
मेरो लुटेको देश दे
बाँकी लैजा तेरो
दुईमुखे आस्वासनहरू।
- कवि आर्दश मिनल प्रधान