गान्तोक, 14 फरवरी । मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम मणिपाल चिकित्सा विज्ञान संस्थान (एसएमआईएमएस), सिक्किम मणिपाल विश्वविद्यालय (एसएमयू) र अन्य विभिन्न विश्वविद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसॅंग अन्तरक्रिया गरेका छन्। उनले गुणस्तरीय शिक्षा, व्यावसायिक उत्कृष्टता र समाजप्रति समर्पित सेवामा पैसाको अभाव कहिल्यै बाधा नबनोस् भन्ने कुरा सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मुख्यमन्त्रीले आज सामाजिक सञ्जाल फेसबुक पोस्टमा एसएमआईएमएस, एसएमयू र विभिन्न विश्वविद्यालयहरूमा एमबीबीएस, बीडीएस, बीपीटी, एमपीटी, अभियान्त्रिकी र अन्य विषयहरू अध्ययनरत विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसँग अन्तरक्रिया गर्न पाउनु साँच्चै आनन्ददायी र अविस्मरणीय अवसर थियो भनी उल्लेख गरेका छन्। उनले विद्यार्थीहरू र उनीहरूका अभिभावकहरूसँगको अन्तरक्रिया ह्रदयस्पर्शी र प्रेरणादायी रहेको बताएका छन्।
उनले मुख्यमन्त्री शिक्षा सहायता योजना मार्फत यी योग्य र मेधावी विद्यार्थीहरूलाई अर्थपूर्ण आर्थिक सहयोग र नैतिक प्रोत्साहन प्रदान गर्न सक्षम बनेको बताएका छन्। मुख्यमन्त्रीले विद्यार्थीहरूको समर्पण, लगन र शैक्षिक उत्कृष्टतालाई हेर्दा उनीहरूलाई आत्मविश्वास, मर्यादा र दृढ़ संकल्पका साथ आफ्नो आकांक्षाहरू पछ्याउन सशक्त बनाउने यस पहलको वास्तविक उद्देश्य र दूरगामी प्रभावलाई पुष्टि गरेको बताएका छन्।
उनले सेवा र मानवतामा समर्पित आफ्नो महान पेशामा अगाडि बढ्ने सबै विद्यार्थीहरूलाई हार्दिक बधाई एवं शुभकामना दिए। उनले कार्यक्रमको सफलताका लागि योगदान पुर्याउने मणिपाल अस्पतालका डा. सन्दीप कश्यप लगायत अन्यहरूप्रति आभार व्यक्त गरेका छन्।
Leave a comment


