गान्तोक, 06 अगस्त। मुख्यमन्त्री प्रेमसिंह तामाङसँग ‘द फ्यामिली आई चोज’ चलचित्र टोलीका कलाकारहरूले शिष्टाचार भेट गरे। मुख्यमन्त्रीले चलचित्र टोलीलाई यस अर्थपूर्ण सिनेमाटिक यात्राको शुभारम्भका अवसरमा हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमा शब्द-चित्र साझा गर्दै लेखेका छन्, ‘राभाङ्लाकी आराध्या राई र बिकमतका एडलिन राई जस्ता सिक्किमका प्रतिभाशाली युवा कलाकारहरू प्रतिष्ठित बलिउड कलाकार कंवलजीत सिंह र सरिकासँग मुख्य भूमिकामा चयन भएको थाहा पाउँदा मलाई गर्वको अनुभूति भएको छ। उहाँहरूको उपलब्धि सम्पूर्ण सिक्किमका लागि गौरवको विषय बनेको छ भने भारतीय चलचित्र क्षेत्रमा सिक्किमेली प्रतिभाको बढ्दो सम्भावनालाई उजागर गरेको छ।’मुख्यमन्त्रीले रगतको सम्बन्धले मात्र होइन, प्रेम, करुणा र जीवनका हरेक मोडमा साथ दिने मानिसहरूले नै परिवारको वास्तविक परिभाषा निर्माण गर्छन् भन्ने यस चलचित्रको सुन्दर सन्देश अत्यन्त प्रेरणादायी रहेको बताएका छन्। उनले यस्तो हृदयस्पर्शी कथालाई पर्दामा उतार्ने निर्देशक तथा लेखिका कंकना चक्रवर्तीको पनि प्रशंसा गरेका छन्।उनले आगामी १२ नोभेम्बर, २०२६ देखि गान्तोकमा चलचित्रको छायाङ्कन शुरु भइरहेको जानकारी गराउँदै सम्पूर्ण कलाकार तथा प्राविधिक टोलीलाई सफल निर्माण यात्राका लागि शुभकामना व्यक्त गरेका छन्। उनले ‘द फ्यामिली आई चोज’ ले देशभरका दर्शकहरूको मन जितोस् र यसले योग्य प्रेम, सम्मान तथा प्रशंसा प्राप्त गरोस् भन्ने शुभकामना पनि व्यक्त गरेका छन्।


