पाकिम, 14 मई । नाम्चेबुङ ब्लक अन्तर्गत अवस्थित वेलकम गेट नजिकै एनएच-717ए को प्रस्तावित विस्तारसँग सम्बन्धित मुद्दाहरूको बारेमा छलफल गर्न आज जिल्ला प्रशासनिक केन्द्र, पाकिममा एक बैठक आयोजना गरियो। शिक्षा, खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेतको अध्यक्षतामा बसेको बैठकमा लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा र जिल्लापाल पारी बिश्नोई, एडीसी पुल्कित, एनएचआईडीसीएलका प्रतिनिधिहरू, स्थानीय सरोकारवालाहरू र प्रभावित क्षेत्रका जग्गाधनीहरू उपस्थित थिए।
बैठकमा परियोजनाको वर्तमान स्थिति, अवस्थित सडक मार्ग र प्रस्तावित विस्तारसँग सम्बन्धित विषयमा छलफल गरियो। छलफल जग्गा अधिग्रहण, प्राविधिक सम्भाव्यता, सुरक्षा र एलाइन्मेन्ट सम्बन्धी मुद्दाहरूमा पनि केन्द्रित थियो।
सभालाई सम्बोधन गर्दै सांसद सुब्बाले क्षेत्रको समग्र प्रगतिको लागि पूर्वाधार विकासको महत्त्वमाथि प्रकाश पारे। उनले पहाडी क्षेत्रहरूमा विकास परियोजनाहरूको समयमै कार्यान्वयनको महत्त्वमा जोड दिए। उनले प्रभावित पक्षहरूको चिन्तालाई सम्बोधन गर्दै परियोजनाको सहज कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित विभागहरू, एनएचआईडीसीएल र स्थानीय सरोकारवालाहरूबीच समन्वयात्मक प्रयास गर्न आह्वान गरे।
यसैगरी, मन्त्री बस्नेतले परियोजनासँग सम्बन्धित उठाइएका मुद्दाहरूको बारेमा एनएचआईडीसीएलका अधिकारीहरू र सरोकारवालाहरूबाट स्पष्टीकरण मागे र यस विषयमा चाँडै निर्णय लिन आग्रह गरे। बैठकको क्रममा उठाइएका चिन्ताहरूको जाँच गर्न, प्राविधिक सम्भाव्यता र सुरक्षा आवश्यकताहरू अनुसार आवश्यक कदम चाल्न एनएचआईडीसीएलका अधिकारीहरूलाई निर्देशन पनि जारी गरियो।
जिल्लापाल बिश्नोईले परियोजनाको सहज कार्यान्वयन सुनिश्चित गर्न जग्गा अधिग्रहण प्रस्तावहरू र अन्य आवश्यक प्रशासनिक औपचारिकताहरूको चाँडै शुरुवात गर्नुपर्ने आवश्यकतामा जोड दिइन्। एनएचआईडीसीएलका अधिकारीहरूले प्रस्तावित विस्तारको प्राविधिक र प्रशासनिक पक्षहरूको बारेमा जानकारी गराए। बैठकमा जग्गाधनी, सरोकारवालाहरू र स्थानीय बासिन्दाहरूले पनि आफ्ना चिन्ता र सुझाउहरू राखेका थिए।
Leave a comment


