गान्तोक, 17 मार्च। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजधानीको पाल्जोर स्टेडियममा आयोजित एक भव्य समारोहबीच 8औं उत्तर पूर्व युवा महोत्सव 2025 को उद्घाटन गरे। सिक्किमले दोस्रोपल्ट यस महोत्सवको आयोजना गरिरहेको छ, जसमा उत्तर पूर्व राज्यका युवाहरूले भाग लिइरहेका छन्।
उद्घाटन समारोहमा सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, मन्त्री अरुण उप्रेती, विधायकहरू दिले नामग्याल बर्फुङ्गपा, तेन्जिङ लाम्था र सोनाम भेन्चुङ्गपा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।
राज्यपाल माथुरले ध्वजारोहण गरेर महोत्सवको शुभारम्भ गरे। यसपछि, उत्तर पूर्वका आठ राज्य, राष्ट्रिय सेवा योजना र नेहरू युवा केन्द्र संगठनका युवा दलले परेड प्रस्तुत गरे भने राज्यपालले सलामी लिएका थिए।
राज्यपाल माथुरले आफ्नो सम्बोधनमा युवाहरूलाई प्रोत्साहित गर्दै यो महोत्सव उत्तर पूर्व क्षेत्रको अद्भुत सांस्कृतिक विविधता र एकताको उत्सव मनाउन अद्वितीय मञ्च प्रदान गर्दछ, जसको उद्देश्य केवल मनोरञ्जन र प्रतिस्पर्धा होइन, तर सांस्कृतिक आदान-प्रदानको माध्यमले पूर्वोत्तरको लोक संस्कृति, नृत्य, संगीत, खेल र कलालाई प्रोत्साहित गर्नु हो र यसलाई राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमा पहिचान दिलाउनु रहेको बताए। उनले महोत्सवमा सहभागी सबै प्रतिभागीहरूलाई शुभकामना दिॅंदै महोत्सवको सफल आयोजनको कामना गरे।
राज्यपालले यो महोत्सव विभिन्न गतिविधि, प्रतियोगिता र सांस्कृतिक आदान-प्रदानको माध्यमले उत्तर पूर्व क्षेत्रका युवाहरूबीच ‘एक भारत श्रेष्ठ भारत’ को संकल्पनालाई अझ बलियो बनाउनु हो भनी बताए। युवाहरूलाई नयॉं भारतको भविष्यका शिल्पकार बताउॅंदै उनले युवाहरूको सोंच, परिश्रम र समर्पणले राष्ट्रलाई नयॉं उचाईमा पुऱ्याउन सकिने बताए।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अटल संकल्प, 2047 सम्म विकसित भारतको संकल्पनाको उल्लेख गर्दै यसलाई साकार रूप प्रदान गर्ने पूर्ण जिम्मेवारी युवा शक्तिको हातमा रहेको बताए। उनले युवाहरूसॅंग यस्तो उर्जा र इच्छाशक्ति रहेको बताए जसले राष्ट्रलाई प्रगतिको दिशामा मार्गदर्शित गर्नेछ र पुन: भारतलाई विश्व गुरु बन्ने दिशामा डोऱ्याएर प्रधानमन्त्रीको विकसित भारत 2047 को सपनालाई साकार गर्न सक्छ।
कार्यक्रममा उत्तर पूर्व राज्यका युवाहरू रंगारंग सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए। यस चार दिवसीय महोत्सवको समापन आगामी 20 मार्च, 2025 मा हुनेछ।