रम्फू, 10 अगस्त। आमा सम्मान दिवस २०२६ अन्तर्गत जनसहभागिता अभिवृद्धि गर्ने उद्देश्यले मुख्यमन्त्री कार्यालयद्वारा आयोजित ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेताहरूलाई सम्मान गरियो।आमा र सन्तानबीचको अमूल्य प्रेम, स्नेह र सम्मानको सम्बन्धलाई उत्सवका रूपमा मनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा प्राप्त योग्य आवेदनहरूमध्ये कम्प्युटराइज्ड र्यान्डम छनोट प्रक्रियामार्फत विजेताहरू चयन गरिएको थियो। यसले प्रतियोगिताको छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाइएको आयोजकले जनाएको छ।मुख्यमन्त्रीले विजेताहरूलाई चेक हस्तान्तरण गर्दै प्रतियोगितामा सहभागिता तथा उपलब्धिका लागि बधाई दिए। मुख्यमन्त्रीको विवेकाधीन अनुदान अन्तर्गत उत्कृष्ट तीन विजेतालाई नगद पुरस्कार प्रदान गरिएको छ।यस प्रतियोगितामा प्रथम पुरस्कार पाकिमकी अनुराधा राईले प्राप्त गरीन्। उनलाई २ लाख रुपियाँ पुरस्कार प्रदान गरियो। यसैगरी, दोस्रो पुरस्कार गेजिङकी बुधमाया लिम्बूले प्राप्त गरिन् भने तेस्रो पुरस्कार माखाका अनुप शर्माले प्राप्त गरे। विजेताहरूलाई क्रमशः १ लाख ५० हजार र १ लाख रुपियाँ प्रदान गरिएको छ।यसैगरी, सोरेङ, रङ्गेली, नामथाङ, चु्ङथाङ, मंगन तथा वेस्ट पश्चिम पाण्डमलगायत विभिन्न जिल्लाबाट चयन भएका सात जनालाई सान्त्वना पुरस्कार स्वरुप २० हजार रुपियाँ प्रदान गरियो। ‘लक्की सेल्फी विथ आमा’ पहलले नागरिकहरूलाई आफ्ना आमासँगका अर्थपूर्ण क्षणहरू कैद गरी साझा गर्न प्रोत्साहित गरेको छ। यसले आमा-सन्तानबीचको प्रेम, कृतज्ञता तथा अविस्मरणीय सम्झनाहरूलाई उजागर गरेको आयोजकले जनाएको छ।यस पहललाई आगामी वर्ष पनि निरन्तरता दिइने भएको छ। आगामी संस्करणमा पुरस्कार राशि वृद्धि गर्नुका साथै ‘बेस्ट फोटो’ नामक नयाँ विधा थप गरिने जनाइएको छ। यसबाट सहभागीहरूले आफ्ना आमासँगका अझ सिर्जनात्मक, सुन्दर तथा अविस्मरणीय क्षणहरू प्रस्तुत गर्ने अवसर पाउनेछन्।


