
गान्तोक, ०२ अक्टोबर। गान्तोकको एमजी मार्गमा आज १५७औँ गॉंधी जयन्ती सरसफाई स्वच्छता, फोहोर प्रबन्धन तथा सामुदायिक सहभागितालाई केन्द्रमा राख्दै विविध कार्यक्रमका साथ मनाइयो। कार्यक्रममा सिक्किमका राज्यपाल ओमप्रकाश माथुर मुख्य अतिथि तथा मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथि थिए। अतिथिहरूले राष्ट्रपिता महात्मा गॉंधीको एमजी मार्गस्थित अर्धकदको प्रतिमामा पुष्प अर्पण गर्नुका साथै खादा चढाएर उनको योगदान तथा आदर्शप्रति श्रद्धाञ्जली व्यक्त गरे।
कार्यक्रमको शुरुआत १२ वटा अत्याधुनिक ढल तथा फोहोर संकलन उपकरण सञ्चालनमा ल्याउने कार्यक्रमबाट भयो। टोयोटा किर्लोस्कर मोटर प्रालिले आर्थिक वर्ष २०२६-२७ को टोयोटा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ती उपकरण सिक्किम सरकारको शहरी विकास विभागलाई हस्तान्तरण गरेको हो।
कार्यक्रममा सरसफाई, स्वच्छता तथा फोहोर प्रबन्धनमा योगदान पुर्याउने व्यक्ति, संस्था, स्वयं सहायता समूह तथा शहरी एवं ग्रामीण स्थानीय निकायलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरियो।
स्वच्छतम ग्राम पञ्चायत पुरस्कार २०२६ अन्तर्गत ग्रामीण विकास विभागमार्फत पोकलोक ग्राम पञ्चायत एकाईले प्रथम स्थान हासिल गर्दै ५ लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्यो। सुक्रबारे सुन्तले ग्राम पञ्चायत एकाई दोस्रो हुँदै ३ लाख रुपियाँ तथा पासिङडाङ साफो र रिम्बी तिम्बोङ ग्राम पञ्चायत एकाई संयुक्त रूपमा तेस्रो हुँदै १-१ लाख रुपियाँ पुरस्कार प्राप्त गरे।
स्वच्छता मित्र पुरस्कार सिक्किम सरकारको जनस्वास्थ्य अभियान्त्रिकी विभागअन्तर्गत गान्तोक ढल व्यवस्थापन शाखाका कर्मचारीलाई प्रदान गरियो। समर्पित सेवाको कदरस्वरूप गोपाल दाहाल, मंगल छिरिङ लेप्चा, लक्ष्मण शर्मा र पेमा ग्याछो लेप्चालाई १० हजार रुपियाँसहित प्रशंसापत्र प्रदान गरियो।
शहरी विकास विभागद्वारा आयोजित इन्गेज २०२५-२६ अन्तरमहाविद्यालय प्रतियोगिताका विजेतालाई पनि पुरस्कार वितरण गरियो। नाम्चीको लोयोला कलेज अफ एजुकेसन प्रथम, तादोङको हरकामाया कलेज अफ एजुकेसन दोस्रो तथा तादोङको नरबहादुर भण्डारी सरकारी महाविद्यालय तेस्रो भए।
यसैगरी, राज्यमा स्वच्छता सेवा कायम राख्न योगदान पुर्याउने शहरी स्थानीय निकायका सफाई कर्मचारीलाई नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गरियो। स्वच्छ शहर अभियान अन्तर्गत नयॉंबजार, जोरथाङको जागृति स्वयं सहायता समूहलाई उत्कृष्ट कार्यसम्पादन गर्ने स्वयं सहायता समूहका रूपमा सम्मान गर्दै ५० हजार रुपियाँ नगद पुरस्कार प्रदान गरियो। गान्तोक नगर निगमअन्तर्गत चान्दमारी वार्डलाई स्वच्छतम वार्ड घोषित गर्दै १ लाख रुपियाँको चेक तथा प्रशंसापत्र प्रदान गरियो।
यसरी नै स्वच्छतम शहरी स्थानीय निकाय पुरस्कार अन्तर्गत गान्तोक नगर निगम प्रथम हुँदै ८ लाख रुपियाँ पुरस्कार प्राप्त गर्यो। नयॉंबजार जोरथाङ नगर पञ्चायत दोस्रो हुँदै ६ लाख रुपियाँ तथा रम्फू नगर पञ्चायत तेस्रो हुँदै ४ लाख रुपियाँ पुरस्कार प्राप्त गरे।
यसरी नै ठोस फोहोर प्रबन्धनमा योगदान पुर्याएको कदरस्वरूप गान्तोक नगर निगमका कर्मचारीहरूलाई जनही ५ हजार रुपियाँ नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरियो। कार्यक्रममा शहरी विकास विभागद्वारा विकसित ‘सफा गान्तोक’ एप राज्यपाल र मुख्यमन्त्रीले शुभारम्भ गरे। उक्त एपमार्फत नागरिकले एक क्लिकमै फोहोर व्यवस्थापनसँग सम्बन्धित सेवामा सहज पहुँच प्राप्त गर्न सक्नेछन्।


