गान्तोक, 21 सेप्टेम्बर। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय रेलवे राज्यमन्त्री रवनीत सिंह बिट्टुलाई भेटेर सिक्किममा रेलवे कनेक्टिभिटीसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेका छन्।
सांसद सुब्बाले मन्त्रीलाई प्रस्तावित मल्ली-देन्ताम रेलवे लिंकको अन्तिम स्थान सर्वेक्षण (एफएलएस) बारे जानकारी गराए, जुन केन्द्रिय रेलवे मन्त्री अश्विनी वैष्णवलाई उनको पहिलेको अनुरोधपछि मन्त्रालयले स्वीकृत गरेको थियो। उनले यस क्षेत्रमा पहुँच सुधार गर्न र सामाजिक-आर्थिक विकासलाई बढावा दिन परियोजनाको महत्त्वलाई ध्यानमा राख्दै एफएलएस चॉंडो पूरा गर्न मन्त्रीको हस्तक्षेपको लागि अनुरोध गरे।
उनले मन्त्रीलाई सेवक-रम्फू रेलवे लाइनको प्रगतिको बारेमा पनि जानकारी दिए र रम्फूमा सिक्किमको आगामी पहिलो रेलवे स्टेशनको बारेमा छलफल गरे। स्टेशनको संरचनात्मक डिजाइन पहिले नै अन्तिम रूप दिइसकिएको उल्लेख गर्दै सांसद सुब्बाले स्टेशनको डिजाइनले सिक्किमको संस्कृति, परम्परा र लोकाचार प्रतिबिम्बित गर्ने कुरा सुनिश्चित गर्न सानातिना परिमार्जनहरू समावेश गर्न अनुरोध गरे।
उनले रवनीत सिंह बिट्टुलाई प्रगतिको व्यक्तिगत रूपमा समीक्षा गर्न र रेलवे कनेक्टिभिटीको सम्बन्धमा जनताको आकांक्षा बुझ्नको लागि सिक्किम भ्रमणमा आउन हार्दिक निमन्त्रणा गरेको सांसद कार्यालयले विज्ञप्तिमा बताएको छ।
Leave a comment


