
गान्तोक, ०३ नोभेम्बर। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय मत्स्यपालन, पशुपालन तथा दुग्ध उत्पादन एवं पञ्चायती राजमन्त्री राजीव रञ्जन सिंह (ललन सिंह) सँग भेटवार्ता गरेका छन्।
मुख्यमन्त्री तामाङले आज सामाजिक सञ्जालमार्फत भेटवार्ताबारे जानकारी दिँदै सम्बन्धित विभागका वरिष्ठ अधिकारीहरूको उपस्थितिमा सिक्किमको विकाससँग सम्बन्धित विभिन्न विषय, प्राथमिकता तथा आपसी चासोका क्षेत्रबारे अर्थपूर्ण छलफल भएको बताएका छन्।
विशेषगरी मत्स्यपालन, पशुपालन, दुग्ध उत्पादन तथा ग्रामीण विकासका क्षेत्रमा सिक्किमको सम्भावना, आवश्यकता र विकासका प्राथमिकताबारे विचार आदानप्रदान गरिएको उनले उल्लेख गरेका छन्।
भेटका क्रममा सिक्किमका जनताको हितलाई ध्यानमा राख्दै केन्द्र र राज्यबीचको सहकार्य थप सुदृढ बनाउने तथा विकासका नयाँ अवसरहरू पहिचान गर्ने विषयमा समेत छलफल भएको मुख्यमन्त्री तामाङले बताएका छन्।
उल्लेखनीय छ, केन्द्रिय राजीव रञ्जन सिंह १ देखि ३ नोभेम्बरसम्म सिक्किमको भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले गान्तोक र मङ्गन जिल्लामा विभिन्न विकास कार्यक्रमको समीक्षा गर्नुका साथै किसान, मत्स्यपालक, सहकारी संस्था र सम्बन्धित पक्षहरूसँग अन्तरक्रिया गरे।


