गान्तोक, 12 जून। सिक्किमका राज्यपाल ओम प्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङले गुजरातको अहमदाबादमा आज भएको एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गर्दै यस दुःखद घटनाबाट प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्।
राज्यपाल माथुरले एयर इण्डिया विमान दुर्घटनाको ह्रदयविदारक खबर सुनेर अत्यन्त व्यथित र स्तब्ध बनेको बताएका छन्। राज्यपालले यस कठिन समयमा सिक्किम राज्यको तर्फबाट सबै पीडितहरू र उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेका छन्। उनले पीडित परिवारहरूप्रति आफ्नो गहिरो समवेदना व्यक्त गर्दै सबै प्रभावितहरूलाई ईश्वरले शक्ति प्रदान गरुन् भनी प्रार्थना गरेका छन्।
यसरी नै मुख्यमन्त्री तामाङले अहमदाबाद नजिकै भएको एयर इण्डियाको विमान एआई171 को दु:खद दुर्घटनाबाट आफू अत्यन्त दुःखी बनेको बताएका छन्। उनले प्रभावित सबैका परिवार र प्रियजनहरूप्रति आफ्नो हार्दिक समवेदना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले यो विनाशकारी घटनाले सबैलाई स्तब्ध बनाएको छ भन्दै पीडितहरू र घटनास्थलमा अथक प्रयास गरिरहेका आपतकालीन प्रतिक्रियाकर्ताहरूप्रति समवेदना व्यक्त गरेका छन्। उनले यस त्रासदीबाट प्रभावित परिवार र समुदायहरूसँग हामी शोक र ऐक्यबद्धतामा उभिएका छौं भनी बताएका छन्।

Leave a comment