गान्तोक, 23 फरवरी। सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले दक्षिण दिल्लीको मालवीय नगरमा अरुणाचल प्रदेशका तीन महिलाहरू विरुद्ध भएका हालैको जातीय दुर्व्यवहारको घटनाप्रति गहिरो पीडा र चिन्ता व्यक्त गर्दै दिल्ली पुलिस विशेष प्रहरी आयुक्त दावुद लालरिनसाङ्गा आईपीएस लाई औपचारिक रूपमा पत्र लेखेका छन्।
सांसद सुब्बाले सोमवार लेखेको आफ्नो पत्रमा महिलाहरूलाई उनीहरूको किरायको आवासमा मर्मत कार्यको बारेमा भएको सानो विवादपछि छिमेकीहरूले जातीय गाली, अपमान र धम्की दिएको उल्लेख गरेका छन्। उनले भिडियो फुटेज र मिडिया रिपोर्टहरूका अनुसार पीडितहरूलाई अपमानजनक टिप्पणीहरू सहित मौखिक रूपमा दुर्व्यवहार गरिएको र उत्तरपूर्वी भारतका मानिसहरूलाई लक्षित गर्दै जातीय आरोपहरू लगाइएको जानकारी गराएका छन्।
सांसद सुब्बाले यस घटनालाई संवैधानिक मूल्यमान्यताको गम्भीर उल्लङ्घन ठहर गर्दै यसलाई केवल छिमेकी असहमति मात्र नभई जातीय शत्रुता र सांस्कृतिक अवहेलनाको गम्भीर कार्य बताएका छन्। उनले यस्तो व्यवहारले मर्यादा, समानता र एकताको सिद्धान्तलाई कमजोर बनाउँछ र प्रभावित महिलाहरूलाई मात्र नभई देशभरका उत्तरपूर्वी नागरिकहरूलाई गहिरो पीडा दिन्छ भनी बताएका छन्।
उनले पत्रमार्फत घटनाको सम्बन्धमा निष्पक्ष र पूर्ण जॉंच, भिडियो फुटेजको प्रमाणीकरण सहित घटना वरपरका पूर्ण तथ्यहरू पत्ता लगाउन, कानूनको सान्दर्भिक प्रावधानहरू अन्तर्गत दोषी ठहरिएकाहरू विरुद्ध कडा र उपयुक्त कानुनी कारबाही गर्न तथा जॉंच प्रक्रियाभरि प्रभावित महिलाहरूको सुरक्षा र मर्यादा सुनिश्चित गर्न माग गरेका छन्।
सांसद सुब्बाले उत्तरपूर्वी भारतीयहरू पनि देशका समान नागरिक हुन् र बाहिरी होइनन् भन्दै भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ भनी कडा सन्देश पनि दिएका छन्। उनले दिल्ली पुलिसको द्रुत र पारदर्शी कारबाहीले कानून प्रवर्तनमाथि जनताको विश्वासलाई पुन: पुष्टि गर्नेछ र राष्ट्रिय राजधानीमा जातीय भेदभाव र धम्कीलाई कुनै स्थान छैन भन्ने बलियो सन्देश दिनेछ भनी विश्वास व्यक्त गरेका छन्।
Leave a comment


